जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट
झापा। विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण। आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमुना देखेर विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दा एकाएक चकित परे। किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार झापाको बिर्तामोड-१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुलको प्राङ्गणमा प्रत्यक्ष रूपमा देख्न पाइएको हो।
अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतूहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गराएको थियो।
प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब रु ४० लाखको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटनसमेत गरिएको छ। उक्त आधुनिक प्रयोगशालाको उद्घाटन विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद् भट्टराईले संयुक्त रूपमा गरे।
समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष बस्नेतले आजको शिक्षा प्रणाली अब परम्परागत पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने स्पष्ट पारे। भविष्यका चुनौतीहरूसँग प्रतिस्पर्धा गर्न विद्यार्थीलाई सुरुदेखि नै सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले यो ल्याब विद्यार्थीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्ने थलो बन्ने विश्वास व्यक्त गरे। सोही क्रममा प्रमुख अतिथि डा. भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शी लगानीले विद्यार्थीको सिकाइमा गुणात्मक सुधार ल्याउने बताए।
विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग जोड्दै अनुसन्धान तथा नवप्रवर्तनको क्षमता अभिवृद्धि गराइनेछ।
कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिंकिङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीप सिक्ने जानकारी दिए। यस्तै, सहायक प्रधानाध्यापक रोजीना कार्कीले नेपालमै पहिलोपटक एरोबे कम्पनीसँग सहकार्य गरेर यस प्रकारको आधुनिक ल्याब सञ्चालनमा ल्याइएको बताउँदै कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयका विद्यार्थीले आफ्नो सिर्जनात्मक क्षमता निखार्ने अवसर पाउने विश्वास व्यक्त गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment