एनपीएलले बढायो होटलहरूको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अवसर

डिसी नेपाल
११ कार्तिक २०८३ १४:१३

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधिको दायरा फराकिलो बनाएको छ।

यसवर्षको एनपीएलमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रायोजन र टिकट बिक्रीलगायतका स्रोतबाट १ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको छ।

आठवटा फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत कारोबार उल्लेख्य रूपमा बढाएको छ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपीएलका आठवटै फ्रेन्चाइज टोली काठमाडौंका विभिन्न पाँचतारे होटलहरूमा बसेका छन्। यसले होटलको व्यापार बढाउनुका साथै नेपालमा खेल पर्यटन विस्तारको बलियो सम्भावना देखाएको छ।

“आठवटा फ्रेन्चाइज टोलीका सदस्यहरू ठूला पाँचतारे होटलमा बसेका छन्। यसले होटलको व्यापार बढाएको छ। टोलीका सदस्यबाहेक खेल हेर्न आउने दर्शकले पनि होटलमा बस्ने, खाने र यातायात प्रयोग गर्ने भएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ,” शाहले बताए।

उनका अनुसार एनपीएलले तत्कालीन रूपमा होटल व्यवसायमा कारोबार बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने सुनौलो अवसरसमेत दिएको छ। प्रतियोगिता टेलिभिजनमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुगिरहेकाले त्यसलाई नेपालको पर्यटन प्रचारसँग जोडेर दीर्घकालीन लाभ लिन सकिने उनको भनाइ छ।

एनपीएललाई खेल पर्यटनको माध्यम बनाउन होटल व्यवसायी, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र क्यानले संयुक्त योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

एनपीएलको प्रभाव ठूला होटलमा मात्र सीमित नरहेर खेल हेर्न कीर्तिपुर पुग्ने दर्शकका कारण मैदान आसपासका खाजा पसल तथा अन्य साना व्यवसायमा पनि कारोबार बढ्ने अवसर सिर्जना भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले पनि एनपीएलजस्ता खेलकुद गतिविधिले युवा वर्गलाई उत्साहित बनाउनुका साथै निजी क्षेत्रको बजार चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताएका छन्।

यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा आर्थिक गतिविधि अझ मजबुत हुने उनको भनाइ छ।

त्रिवि क्रिकेट मैदानबाहिर एनपीएल अवधिभरका लागि खाजा पसल सञ्चालन गरिरहेका स्थानीय होटल व्यवसायी नरेन्द्र कोजुका अनुसार खेल हुने दिन दर्शकको आवागमनले व्यापार गर्ने गतिलो अवसर प्रदान गरेको छ।

यस प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स र विराटनगर किंग्स गरी आठ टोली सहभागी छन्। विभिन्न क्षेत्रका टोली र तिनका समर्थकहरूको काठमाडौं आउने क्रमले स्थानीय व्यापारलाई थप चलायमान बनाएको छ।

अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई पर्यटन प्याकेज, होटल सेवा र नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूसँग जोड्न सके एनपीएलले थप आर्थिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

एनपीएलले होटल तथा स्थानीय व्यवसायमा तत्कालीन कारोबार बढाउने गतिलो अवसर दिएको भए पनि यसलाई दीर्घकालीन खेल पर्यटनमा रूपान्तरण गर्न सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *