त्रिभुवन विमानस्थलका विद्युतीय भर्‍याङ यात्रु सुविधामा होइन, विज्ञापनमा मात्रै सीमित

डिसी नेपाल
११ कार्तिक २०८३ १४:५७

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन (अराइभल) कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्‍याङ (एस्कलेटर) र अन्य पूर्वाधारहरू प्रयोगविहीन बनेका छन्।

यात्रुको आउजाउलाई सहज र छिटोछरितो बनाउन जडान गरिएका यस्ता आधुनिक उपकरणहरू पूर्ण रूपमा सञ्चालनमा नआउँदा विमानस्थलका पूर्वाधार व्यवस्थापनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ।

अन्तर्राष्ट्रिय यात्रुको बाक्लो उपस्थिति रहने आगमन कक्षमा कतै घुमाउरो बाटो, कतै साँघुरा गल्ली त कतै बन्द अवस्थामा रहेका विद्युतीय भर्‍याङहरू देखिन्छन्।

यात्रुलाई सुविधा दिनुपर्ने धेरैजसो महत्त्वपूर्ण संरचनाहरू हाल पूर्ण रूपमा निष्क्रिय छन्। चाखलाग्दो कुरा त के छ भने, सञ्चालनमा नरहेका यी विद्युतीय भर्‍याङहरूलाई अहिले यात्रुको सेवामा भन्दा पनि विभिन्न कम्पनीका विज्ञापन टाँस्ने माध्यमका रूपमा मात्र उपयोग गरिरहेको पाइन्छ।

विमानस्थलजस्तो संवेदनशील र व्यस्त स्थानमा यात्रुको चाप व्यवस्थापन गर्न ठूलो लगानीमा निर्माण गरिएका पूर्वाधार प्रयोगमा नआउनुले तिनको औचित्यमाथि नै प्रश्न चिह्न खडा गरेको छ।

सर्वसाधारण र विदेशी पर्यटकको सुविधाका लागि जडान गरिएका उपकरणहरू समयमै मर्मतसम्भार गरी सञ्चालन गर्न नसक्नुले विमानस्थल प्रशासनको गैरजिम्मेवारीपन र पूर्वाधारको उपयोगितामाथिको असक्षमतालाई उजागर गरेको छ।

(तस्बिर: नेपाल न्यूज बैंक)

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *