नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु

डिसी नेपाल
११ कार्तिक २०८३ १५:२२

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।

कात्तिक १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धिका विषयमा छलफल हुनेछ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्। दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित विभागका प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियारको ओसारपसार नियन्त्रण, दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार र सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै, खुला सीमाबाट तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराधबारे सूचना आदानप्रदान, आधुनिक प्रविधिको प्रयोग तथा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संयुक्त सहकार्य बढाउने विषय पनि बैठकको कार्यसूचीमा छन्।

सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने, यात्रु सहायता कक्ष थप गर्ने तथा दुवै सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ।

बैठकले नेपाल–भारत सीमामा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुई देशका सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *