फेरि आफ्नै गाउँतिरको यात्रा…

फुर्पा शेर्पा
१४ वैशाख २०७८ १९:५८

काठमाडौं। २०७६ को चैतको शुरुमै देशमा लकडाउन हुने चर्चाले काठमाडौं रित्तिन थालिसकेको थियो। चैत ११ मा लकडाउन हुनुअघि काठमाडौंबाट लाखौं मानिसहरु अकाठमाडौंबाट आफ्नै गाउँ फर्किए।

अवस्था सामान्य बन्दै गएपछि असारबाट काठमाडौं छोडेकाहरु फेरि यता आउन थाले। दशैंपछि ढुक्कले काठमाडौंमा बस्नेहरु फेरि काठमाडौं छाड्दै छन्। फेरि आफ्नै गाउँतिर फर्किन थालेका छन्। कोरोना महामारीको पहिलो लहर झेलेर सामान्य जीवनयापन गर्न शुरुमात्र हुन लागेका बेला कोरोनाको दोस्रो लहरले देशलाई कर्लप्पै पार्न लागेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामात्र २ हजारभन्दा धेरै संक्रमित भएका छन्। देशमा संक्रमितको संख्या २६ हजार नाघेको छ।

बिहीबार बिहानदेखि काठमाडौं उपत्यकामा निशेषाधाज्ञा लागु हुँदैछ। यो पटक लकडाउन शब्द प्रयोग गरिएको छैन। र प्रतिबन्धहरु पनि लकडाउन जतिको कडा छैनन्। तर, यो निशेषाधाज्ञा पनि सामान्य जीवनयापन गर्न सहज छैन। विद्यालय बन्द भएका छन्। परीक्षा स्थगित भएका छन्। पसल, व्यवसाय, उद्योग, निर्माण बन्द भएका छन्। जसले गर्दा काठमाडौंमा बस्ने विद्यार्थीदेखि मजदुरहरु आफ्नै गाउँ फर्किन बाध्य भएका छन्।

सोमबार सरकारले कामठाडौं उपत्यकामा बिहीबारदेखि निशेषाधाज्ञा लागु हुने आदेश जारी गरेपछि मंगलबार बिहानैदेखि बसपार्कमा घर फर्किनेहरुको घुइँचो लागको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी स्यामकृष्ण अधिकारीका मंगलबार ५ बजेसम्म काठमाडौं छाड्नेको संख्या २७७८० छ। यो बसका माध्यमबाट काठमाडौं छाड्नको संख्या हो। हवाई उडानबाट पनि हजारौंले काठमाडौं छाडेका छन्। बुद्ध एअरलाइन्स र यति एअरलाइन्सले त अतिरिक्त उडान नै थपेका छन्। यात्रुको चाप बढेकाले उडान थपिएको हो।

ट्राफिक प्रहरीका अनुसार आइतबार ३९ हजार यात्रुले काठमाडौं छाडेका थिए भने सोमबार ५० हजार ५ सय ५७ ले। काठमाडौं छाड्नेको संख्यामा २५ प्रतिशतले बढेको छ। ट्राफिक प्रहरीले जनाएको छ। मंगलबार पाँचबजेपछि ठूलो संख्यामा यात्रुहरुले काठमाडौं छाडेका छन्। तर, सो तथ्यांक बुधबारमात्र प्राप्त हुने भएकाले मंगलबार उपत्यका छाड्नको यकिन तथ्यांक उपलब्ध भएको छैन।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएका थिए। यससगैं मंगलबार काठमाडौं छाड्ने यात्रुहरुको भीड लागेको हो।

गोंगबुुस्थित नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायत ठाउँमा घर फर्कनेको भीड बढेको छ। अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायातका साधानहरु अहिले भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन्।

लामो दूरीका बसमा सिट नपाएको यात्रुले गुनासो गरेका छन्। हेटौँडा जानका लागि टिकट काट्न मगंलबार बिहान बल्खु पुगेका जयराम यादवले टिकट नपाएको गुनासो गर्दै डिसी नेपालसँग भने, ‘यस्तो के आइलागेको होला? देशमा एकतिर कोरोनाको डर अर्काेतिर निषेधाज्ञाका कारण घर पनि जान गाह्रो।’ लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो।

बल्खुस्थित टिकट काउटर सञ्चालन गर्दै आएका राम प्रसादले बिहानदेखि नै बल्खुमा खुट्टा टेक्ने ठाउँ समेत् नभएको र भीडभाड बढेको बताए। सोमबार रातिदेखि मंगलबार बिहानसम्म एक लाख यात्रुहरुले टिकट काटेका छन्।

यसरी काठमाडौं छाडेर घर फर्केकाहरु कहिले फेरि उपत्यका आउँछन् त्यो भने कुनै निश्चित छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *