भारत कोरोनाले आक्रान्त भएका बेला चीनले पूर्व लद्दाखमा सैन्य गतिविधि बढायो
काठमाडौं। कोरोनाभाइरस महामारीले अहिले सबैभन्दा बढी भारत प्रभावित छ । यहाँ अहिले हाहाकारको स्थिति छ । यही समयमा पूर्वी लद्दाखमा चीनले सैन्य गतिविधि बढाएको भारतीय मिडियाले दावी गरेका छन् । इण्डिया टुडेका अनुसार चीनले यस क्षेत्रमा आफ्नो स्थिति बलियो बनाइरहेको छ । जानकारी अनुसार पूर्वी लद्दाखमा चीनको जनमुक्ति सेनाले एक पटक फेरि आफूलाई सशक्त अवस्थामा उभ्याएको छ ।
भारत र चीनबीच सीमामा तनाव भएपछि पछिल्लो समय दुई देशबीच विवाद समाधानको लागि वार्ता भइरहेको छ । गएको फेब्रुअरीमा भएको सहमतिपछि दुवै देशले पेगोंग त्सो क्षेत्रबाट आआफ्ना सैनिक फिर्ता बोलाएका थिए । त्यसअघि यो क्षेत्रमा चिनियाँ सैनिक तैनाथ थिए । कैयौं महिनाको तनावपछि भारत र चीनबीच लद्दाखको विवादित क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो ।त्यसपछि दुवै देशले सेना फिर्ता लैजाने प्रक्रिया पनि सुरु गरेका थिए ।
इण्डिया टुडेले सूत्रको हवाला दिँदै यहाँ अहिले स्थिति पुनः पुरानै भएको र यहाँ चिनियाँ सैनिक तैनाथ भएको बताएको छ । यहाँ चीनको जनमुक्ति सेनाले स्थायी निर्माण, आवास र सैन्य भवन निर्माण सकेत गरेको बताइएको छ । यी दुई देशबीच एक वर्षअघि मे महिनामा झडप भएको थियो । त्यसपछि १५ जून २०२० मा गस्तीमा गएका भारतीय र चिनियाँ सैनिकबीच रक्तपातपूर्ण झडप हुँदा थुप्रै सैनिक मारिएका थिए । भारतका २० सैनिक मारिएका थिए । चीनका कति सैनिक मारिए भन्ने अझै स्पष्ट छैन ।







डिसी नेपाल








Facebook Comment