चिहानमा ठाउँ सकियो, कोरोनाबाट मर्नेहरुको लाश सडक खनेर गाडिँदै

डिसी नेपाल
१८ वैशाख २०७८ ११:५३
1.4k
Shares

काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ लाखभन्दा माथि भएपछि ब्राजिलमा चिहानमा लाश गाड्ने ठाउँ समाप्त भएको छ र यो देश अब कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव सडक खनेर त्यहीँ गाड्न बाध्य भएको छ । बिहीबार ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाखभन्दा बढी भएसँगै त्यहाँ लाश गाड्नका लागि खनिएका सडकका तस्वीरहरु सार्वजनिक भएका छन् ।

मृत्यु हुनेको संख्या ४ लाख पार हुने ब्राजिल दोस्रो देश हो । यसअघि जनवरी २०२१ मै अमेरिकामा मृत्यु हुनेको संख्या ४ लाख बढी भइसकेको छ । ब्राजिलको अमेजन राज्यको राजधानी मिनाउसको नोसा सेन्होरा अपारासिडा चिहानघाटका चिहान अपरेटर म्यानुएल भिएनाले वाशिङटनको मिडिया एनपीआरसँग कुरा गर्दै महामारीको सुरुवातदेखि आफूहरु डरलाग्दो सपनाजस्तै जीवन बाँचिरहेको बताए ।

‘म प्रार्थना गर्छु कि एउटा हेलिकप्टर आओस् र मलाई यहाँबाट कतै टाढा लैजाओस्’ उनले भने । उनका अनुसार एकैपटक धेरै कफिनहरु गाड्न सकिने सामूहिक चिहान खन्नको लागि मेसिनको प्रयोग गरिएको छ किनकि बढ्दो मृत्युदरका बेला मानिसले चिहान खनेर साध्य छैन । महामारी सुरु भएको १२ महिनापछि न्यूज डटकम डटएयूले प्रकाशित गरेका तस्वीरमा भिएनाको चिहानघाट देखिएको छ जहाँ चिहान क्षेत्रमा कुनै ठाउँ बाँकी नरहेपछि सडकमा ठूला ठूला खाल्डा खनिएको देख्न सकिन्छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजारभन्दा माथि कोभिड सम्बन्धित मृत्यु भएका छन् । यो दक्षिण अमेरिकी देशमा कूल १ लाख जना संक्रमितमा १८९ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । अस्पतालहरु बिरामी धान्न नसक्ने अवस्थामा छन् र यहाँ पछिल्लो हप्ता दैनिक मृत्युदर औसतमा २५२६ पुगेको छ । भाइरस नियन्त्रण गर्ने चुनौतीसँगै यहाँ भ्याक्सिनको अभाव पनि भइरहेको छ । देशमा करिब २ करोड ८० लाखले पहिलो डोज भ्याक्सिन पाएका छन् । यो संख्या कूल जनसंख्याको करिब १३ प्रतिशत हो । १ करोड २७ लाख जनाले दोस्रो डोज पाएका छन् । ब्राजिलका २७ राज्यमध्ये १४ राज्यले अभावका कारण खोप कार्यक्रम स्थगित गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.