कोरोनाले विदेशमा थप ११ नेपालीको मृत्यु, २० हजारबढी संक्रमित

डिसी नेपाल
२० वैशाख २०७८ १९:१२

काठमाडौं । कोरोनाका कारण भारतमा १० जनासहित विदेशमा यो साता ११ जना नेपालीको निधन भएको छ । यो साता साउदीमा पनि थप एक जना नेपालीको संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिको शनिबार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार एक सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो साता मलेसिया, भारत, कुवेत, युएई र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिको सुझाव

नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले जनाएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखापरेमा तत्काल पीसीआर परिक्षण गर्न समितिले सुझाएको छ ।

नयाँ भेरियन्टको कोरोना भएमा परिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनै लक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ । यस्तै मधुमेह र उच्च रक्तचाप भएका मानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुनसक्ने भएकोले उनीहरुले आफ्नो स्वास्थ्य र औषधी सेवनमा विशेष ध्यान दिनुपर्छ ।

पोषणयुक्त खानेकुरा खाने, शारीरिक व्यायाम समेत गर्नुपर्छ । संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटर राख्ने र बेलाबेलामा अक्सिजन नाप्नु पर्छ । अक्सिजन लेभल कम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनि समितिले सुझाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *