ट्वीटरले दिएको ‘स्पेस’ – Dcnepal

ट्वीटरले दिएको ‘स्पेस’

सामाजिक सञ्जालमध्ये एक सशक्त माध्यम हो, ट्वीटर। छोटा वाक्यमा विचार आदान प्रदान गर्ने थलोका रुपमा यसलाई लिइन्छ। हालसालै ट्वीटरले स्पेस भन्ने सुविधा पनि केही मोवाइलहरुमा ट्रायल फेजका रुपमा दिएको छ। सानातिना प्राविधिक समस्या रहे पनि छोटो समयमा नै यसले नेपाली युवाहरुको मन जितेको छ। हाललाई ११ जनासम्म वक्ताले बोल्न मिल्छ स्पेसमा। स्रोताको संख्यामा सिमाना तोकिएको छैन। ट्वीटरले दिएको जानकारी अनुसार निकट भविष्यमा को–होस्ट गर्न मिल्ने र होस्टले टिकट लिन मिल्नेसम्मको सुविधा पाइनेछ।

ट्वीट गर्दा एकालाप हुन्छ। लिखित सवाल जवाफ झन्झटिलो छ। स्पेसले समूहमा बोल्न मिल्ने र विचार राख्न या बहस गर्न दिने भएकोले लोकप्रियता बढेको छ। पछिल्लो समय कोभिडले युवाहरुलाई घरमै थन्क्याइदिएको छ। स्पेसले घर बस्नेहरुको समय खपत त गरिदिएको छ नै आफूलाई लागेको कुरो निर्धक्क राख्ने ठाउँको सिर्जना पनि गरिदिएको छ। आ आफ्नो फ्रस्टेशन पोख्ने ठाउँ पनि बनेको छ, स्पेस।

नेपाली स्पेस प्रयोगकर्तामा देखिएको शैली रमाइलो छ भलै सबै ट्वीटे यसमा समेटिइसकेका छैनन्। तर जति छन् तिनले विषयगत वहस गर्छन्। विचार आदान प्रदान गर्छन्। रमाइला किस्सा सुनाउँछन्। कुनै बेला त बिवादको तहमा पनि ओर्लन्छन्। समस्या उठाउँछन्। समाधानका उपाय सहित पनि आउँछन्। राज्यले यसो गरे हुने उसो गरे हुने भनेर दिशा निर्देश गर्ने खालका सवाल जवाफ सहितका बहस पनि चलाउँछन्।

***

जापान, टोक्योबाट अनन्त कोइरालाले विविध विषयमाथि स्पेसमा वहस चलाइसकेका छन्। प्रायः बोल्न चाहने सबैजसोलाई भाग पुरयाउँछन्। उनले हरेक दिन विविध शीर्षक दिएर वहस प्रारम्भ गर्छन्। उनको स्पेसमा भाग लिनेको संख्या तुलनात्मक रुपमा ठूलो हुन्छ । स्पेसका बारेमा अनन्तले डिएममा भने, ‘अक्षरमा सीमित विचारलाई आवाजका माध्यमबाट प्रसारण गर्ने थलो बनेको छ, स्पेस। ट्वीटरले स्पेस बनाइदिएका कारण भिन्न विषयमा सामान्य मान्छेहरुले पनि आफ्ना विचार सजिलै प्रवाह गर्न सक्ने भएका छन्। कोइरालाका अनुसार मिडिया हाउसहरुले पनि विस्तारै यता ध्यान दिनेछन्। आफ्ना पाठक, स्रोता या दर्शकलाई सिधै जोड्ने अवसर पनि हो यो।’

छोटो समयमा स्पेसले राम्रा वक्ता पनि उत्पादन गरिरहेको छ। प्रायः सबै होस्टले वक्ताका रुपमा निम्त्याउने नाम हो बाबा अनिल चे। भारतको बैंड्गलोरमा बसेर काम गरिरहेका पूर्व पत्रकार चे यानी कि अनिल घिमिरे पत्रकारितामा भएका कमी कमजोरीलाई ट्वीटरमार्फत उजागर गरिरहेका हुन्छन्। उनले खानपान र खेलकुदका विषयमा अलि बढी धारणा राख्ने गरेका छन्। स्पेसबारे अनिल भन्छन्, ‘नयाँ नयाँ मानिस चिनिएको छ। लेखाइ र बोेलाइमा कति फरक हुन्छ भन्ने देखिएको छ। आफ्ना कुरा राख्न पाइएको छ। अरुका धारणा बुझ्न पाइएको छ। समय अलि बढी खपत हुने भए पनि स्पेस रमाइलो प्लेटफर्म बनेको छ। अनिलले अनलाइन र छापामाध्यममा हुने गरेका कमी कमजोरीको उछितो काढेका छन्, ट्वीटरमार्फत। यस्तो लाग्छ, यिनकै डरले पनि सम्पादकहरु हतारिएर सामग्री पस्किँदैनन्। नेपाली पत्रकारले गर्ने गल्तीलाई यति मिहिन ढंगले केलाउने केही मध्ये यिनी एक हुन्।

मानवी पौडेलले पनि स्पेस होस्ट गर्छिन्। उनको बुझाइमा विशेष शीर्षकमा बहस गर्दा धेरैजसोका भोगाइ र विज्ञता अनुसारका सामूहिक कुरा सुन्न पाइन्छ। शीर्षक राखेर त्यसमा मिहिन ढंगले छलफल हुँदा बौद्धिक चासो पनि बढ्ने रहेछ। प्रभावकारी वहस पनि हुन्छ। भन्छिन्, ‘सबै स्पेसका बहस प्रभावकारी हुन्छन् जस्तो लाग्दैन। स्पेस होस्ट र सहभागी अनुसार पनि फरक पर्ने रहेछ।’ राजनीतिमा रुची राख्ने उनले थपिन्, ‘म पनि यसमा नौलो प्रयोगकर्ता भएका कारण धेरै कुरा जान्न बाँकी छ।’

स्पेसमा गीत, संगीत, कला, गला, कविता, गजलको पनि माहोल बन्छ। गजलकार निश्चल पी निड्लेखु गजलले स्पेसको माहोल तताउँछन्। होस्ट गर्छन्। सिकारुको रहर मेटाउने माहौल बनाइदिन्छन्। भन्छन्, ‘स्पेसले साहित्यमा कलम चलाउनेलाई विचार आदान प्रदान गर्न सजिलो पारिदिएको छ। कुनै जमानामा एउटा गजल छपाउन अखबारको कार्यालय पुग्दा नि अस्वीकृत हुन्थ्यो। अहिले कसैलाई गुहार्नु पर्दैन। लेख्नेहरुबीच छलफल चलाउने डिजिटल प्लेटफार्म छन् ती मध्ये एक हो, ट्वीटरको स्पेस।’ प्रायः सबैले होस्ट गरेका स्पेसमा गीत गाएर मनोरञ्जन दिन्छन् निर्मल दाहाल। गायनमा आफ्नो उपस्थिति दरिलो बनाउँदै लगेका दाहालले आफ्नो प्रतिभा देखाउने थलोका रुपमा पनि स्पेसलाई लिएका छन्। कुनै पनि स्पेसमा छिर्नासाथ दाहाललाई गीत गाउने अफर गर्छन् स्रोताले।

बालरोग विशेषज्ञ डा. राजु सेढाईं पनि स्पेस होस्ट गर्छन्। कोभिडको महामारी र व्यवस्थापन बारेमा उनले बहस चलाएका छन्। स्वभावतः उनको स्पेसमा डाक्टरहरुको संलग्नता बढी देखिन्छ। विविध पेसाकालाई संलग्न गराउन सके उनीहरुको विज्ञताले अरुलाई फाइदा पुग्ने थियो। स्पेसका बारेमा डा सेढाई भन्छन्, ‘स्वास्थ, राजनीति, साहित्य, संगीतका विषयमा विभिन्न पेशा, वर्ग र समुदायका व्यक्तिहरुबीच संवाद गरी बिचार र अनुभव साटासाट गर्ने थलो बनेको छ, स्पेस।’ भन्छन्, ‘कहिलेकाँही स्पेस पनि मिनि संसद नै हो कि झैं लाग्छ। स्पेसको सही सदुपयोग गर्ने हो भने विभिन्न विषयका विचारमाथि मन्थन गर्ने साझा चौतारी बनाउन सकिन्छ।’

***

नयाँ शुरुवात हो, स्पेस। यसको प्रादुर्भाव यस्तै हुन्छ भनेर आँकलन गर्नु हतारो हुनेछ सायद। समसामयिक विषयलाई ठिक ढंगले उठान गरेर समाधानसहित पस्किन सक्ने हो भने यसले समाजका विविध विषयलाई सम्बोधन गर्न सघाउने छ। राज्यलाई घच्घच्याउन सक्छ। मूलधारका सञ्चारमाध्यमले आफ्नो धर्म निर्वाहमा विचलन देखाए भने यी यस्ता प्लेटफर्महरु उपयोगी र विश्वसनीय हुन सक्छन्। र, भूगोलमा नबाँधिएका नेपाली जहाँ जहाँ छन् त्यहाँ त्यहाँबाट नै विविध विषय उठान गर्न सक्नेछन्। विश्व एक गाउँको अवधारणालाई व्यवहारमा उतार्न पनि यी यस्ता प्लेटफार्मले मद्दत गर्नेछन्।

पव्लिक अपिनियन मेकरका ट्वीट, लेख या अन्तरर्वार्तालाई बहसमा ल्याउँछ स्पेसले। त्यतिमात्रै होइन, ती विचारको पब्लिक अप्रुवल कति हुन्छ भन्ने बुझ्न पनि सघाउँछ। गलत मनसायका लेख लेख्ने या ट्वीट गर्ने बौद्धिक व्यक्तित्व पनि यस्ता बहसमा प्रतिरक्षामा रहेको देखिन थालेको छ। यसले विचार निर्माणकर्तालाई सजग समेत गराउँछ। मूलतः होस्टको विषयमाथिको पकड र वक्ताको प्रस्तुतिकरणले स्पेसको स्तर मापन गर्दै जाने अपेक्षा गर्न सकिन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो