‘भारत र ब्राजिलले वैज्ञानिकको सल्लाह मानेनन्, अहिले त्यसैको फल भोग्दैछन्’

डिसी नेपाल
२२ वैशाख २०७८ १७:०९

काठमाडौं। भारत र ब्राजिलले कोरोनाभाइरसका विषयमा वैज्ञानिकले दिएको सल्लाह मानेनन् त्यसैले यी देशमा कोरोनाभाइरसको दोस्रो लहर अत्यन्तै भयानक भयो । यदि वैज्ञानिकको सल्लाह मानेको भए कोरोनाभाइरसको दोस्रो खतरनाक लहरलाई नियन्त्रण गर्न सजिलो हुन्थ्यो । प्रसिद्ध वैज्ञानिक जर्नल नेचरले आफ्नो सम्पादकीयमा भारत र ब्राजिल सरकारले वैज्ञानिकको सल्लाह नमानेर कोरोना नियन्त्रणको लागि राम्रो अवसर गुमाएको बताएको छ ।

गत हप्ता भारतमा कोरोनाभाइरसबाट एकै दिन ४ लाखभन्दा धेरै संक्रमित भएका थिए । ३ हजार ५ सयभन्दा धेरै मानिसको एकै दिन मृत्यु भएको थियो ।नेचर जर्नलका अनुसार भारत र ब्राजिल एक अर्कासँग भौतिक रुपमा १५ हजार किलोमिटर टाढा छन् तर दुवै देशमा कोरोनाको विषयमा एउटै समस्या छ । दुवै देशका नेताहरुले वैज्ञानिकको सल्लाह मानेनन् र मान्ने अवस्थामा पनि ढिलो गरेर मात्रै माने । यही कारण दुवै देशमा हजारौं मानिसको अकालमा ज्यान गयो ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले लगातार कोभिड–१९ लाई सानोतिनो फ्लु भनिरहे । उनले वैज्ञानिकको सल्लाहलाई बेवास्ता गरे । उनले वैज्ञानिकले बताएका तरिका पनि मानेनन् । ब्राजिलमा सरकारले जनतामा मास्क लगाउने र एक अर्कासँग भौतिक दूरी कायम गर्ने बाध्यतालाई ठिकसँग लागू गरेन । भारतमा सरकारले वैज्ञानिकको सल्लाह समयमा कार्यान्वयन गरेन । यही कारण देशमा कोरोनाको संक्रमण तीब्र रुपमा बढ्यो र हजारौंको ज्यान गयो ।

भारतमा हजारौंको संख्यामा मानिसहरु चुनाबी र धार्मिक कार्यक्रममा सहभागी भए । ठिक यस्तै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना वैज्ञानिकको कुरा मानेका थिएनन् । यही कारण अमेरिकामा ५ लाख ७० हजार मानिसको मृत्यु भएको थियो । विश्वमा कोरोनाको कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा नै भएको छ ।

भारतमा अघिल्लो वर्षको सेप्टेम्बरमा कोरोना केस उच्चतम स्तरमा थियो । त्यतिबेला दैनिक ९६ हजार जना संक्रमित भइरहेका थिए । त्यसपछि यस वर्षको मार्चमा दैनिक संक्रमणका केस कम भएर १२ हजारसम्म झरेका थिए । यो कमी देखेर भारत सरकार आत्मसन्तुष्ट भएको थियो । यस क्रममा सबै व्यवसाय फेरि खोलिए । मानिसहरुको भीड जम्मा हुन थाल्यो । मानिसहरुले मास्क र भौतिक दूरीको पालना गर्न कम गरिसकेका थिए । चुनाभी जुलुस, धर्ना, प्रदर्शन र धार्मिक कार्यक्रम आयोजना भइरहेका थिए । यो पूरै प्रक्रिया मार्चदेखि अप्रिलसम्म चल्यो । जसका कारण कोरोना केस अत्याधिक तीब्र गतिमा बढ्यो ।

भारतमा अर्को समस्या के पनि छ भने यहाँका वैज्ञानिकको कोभिड–१९ अनुसन्धानको डाटासम्म सहज पहुँच छैन । जसका कारण वैज्ञानिक सही भविष्यवाणी गर्न विफल हुन्छन् । वैज्ञानिकले कोरोनाको परीक्षण नतिजा र अस्पतालमा भइरहेका क्लिनिकल जाँचका सही र पर्याप्त परिणाम पाउँदैनन् । अर्को ठूलो समस्या देशमा ठूलो परिमाणमा जिनोम सिक्वेन्सिङ हुन नसक्नु पनि हो ।

देशका प्रमुख वैज्ञानिक सल्लाहकार कृष्णास्वामी विजयराघवनले देशमा रहेका चुनौतीको कुरा स्वीकार गरेका छन् । उनले कसरी सरकारभन्दा पृथक रहेर अनुसन्धान गरिरहेका वैज्ञानिकले डाटा पाउँछन् भन्ने पनि बताएका छन् । केही तथ्यांक अझै स्पष्ट हुन सकेका छैनन् । उनीहरुको जाँच चलिरहेको छ । २ वर्ष पहिले देशका १०० अर्थशास्त्री र तथ्यांकका रणनीतिकारहरुले मोदी सरकारलाई पत्र लेखेर तथ्यांकसम्म पहुँचको माग गरेका थिए ।

यो पत्र त्यतिबेला लेखिएको थियो जतिबेला राष्ट्रिय तथ्यांक आयोगका केही बरिष्ठ अधिकारीले राजीनामा दिएका थिए । जर्नलका अनुसार शोधकर्ता र सरकारबीच सधैं कठिन सम्बन्ध हुन्छ । तर, कोरोनाभाइरसको क्रममा यस्ता सम्बन्धले समस्या सृजना गर्न सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *