अन्ततः खोप आयातको जिम्मा दुई विवादित कम्पनीलाई, १० प्रतिशत भन्दा बढी नाफा लिन नपाउने

उपेन्द्र शाही
२३ वैशाख २०७८ १२:४२

काठमाडौं। लामो समयको रस्साकस्सीबीच सरकारले विवादित कम्पनीलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले बिहीबार नेपालमा प्रयोग भइसकेको कोभिसिल्ड र कोभ्याक्सिन खोप ल्याउनका लागि अनुमति दिएको बताएको छ।

विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार खोप आयातका लागि दुईवटा निजी कम्पनी हुकम डिस्ट्रिब्युटर्स प्रालि र इमराल्ड फर्मालाई अनुमति दिइएको हो।

यी दुवै कम्पनीलाई पहिले नै आकस्मिक प्रायोजनका लागि अनुाति दिइएको थियो। तर, यि दुवै कम्पनी तोकिएको समयमा खोप आयात नगरेर विवादित बनेका कप्मनीहरु हुन्।

केही समय पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले निजी कम्पनीकै कारण खोप कार्यक्रम र आयातमा समस्या भएको बताएका थिए। उनले खोप खरिदका लागि सरकार–सरकार (जिटुजी) बीच मात्रै गर्ने बताए पनि भाइरसको संक्रमण बढदै जाँदा निजी कम्पनीहरूले खोप खरिदका लागि सामेल प्रवेश पाएका थिए।

पुनः सरकारले विवादित कम्पनीलाई नै खोप आयात अनुमति दिए पछि खोप आयातले नयाँ मोड लिएको छ। विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिएको छ।

विभागका सूचना अधिकारी केसीका अनुसार यी दुवै खोपलाई सबै सेवा सुविधासहित १० प्रतिशत बढी नाफा लिन नपाउने गरी निजी आयात अनुमति दिइएको छ।

कोभिसिल्ड खोप नेपालमा करिब २१ लाख बढीले लगाइसकेका छन्। खोप आयातमा ढिलाई हुँदै गएपछि पहिलो डोज ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो डोज कहिले लगाउने टुंगो छैन। उनीहरुले तीन महिनाभित्र खोप लगाई सक्नु पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *