अति भयो, बन्द गर बेमौसमी बाजाहरु! – Dcnepal

अति भयो, बन्द गर बेमौसमी बाजाहरु!

कोरोना संक्रमण र असर नियन्त्रणमै छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो सिएनएनलाई अन्तर्वार्ता दिइरहँदा स्वास्थ्य मन्त्रालय भन्दै थियो पहिले नै किनेको कोरोना भ्याक्सिनसमेत सरकारले ल्याउन सकेन। तत्काल ल्याउन संभव छैन। ५० लाख खोप किन्ने योजना छैन।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्फत सिचुएनशन इज अन्डर कन्ट्रोल भनिरहँदा भेन्टिलेटर नपाएर कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको समाचार पढिरहेका थिए।

पिसिआर रिपोर्ट बिना अस्पतालले भर्ना नलिदाँ र समयमा रिपोर्ट नआउँदा मृत्यु भएका एक संक्रमितको शव उनको परिवारले रिक्सामा उठाएर लगिरहँदा देशका गृहमन्त्री राष्ट्रिय सभामा उम्मेद्वारी दिन हेलिकप्टरमा हेटौंडा जाँदै थिए।

संकटमा बेड, आइसियू, भेन्टिलेटर र अक्सिजन सिलिण्डरको याचना गर्नेलाई सहयोग गर्न डाक्टर, पत्रकार, सामाजिक अभियन्ता र अधिकारकर्मीले #Helpless राखेर सामाजिक सञ्जालमा पोष्टहरु लेखिरहँदा प्रधानमन्त्री, तालुकदार मन्त्री, सांसद र कर्मचारी २७ गते बस्ने संसद बैठकका लागि पीसीआर गराइरहेका थिए।

यी केही प्रतिनिधिमुलक घटना परिघटना हुन्। जसको सिधा उत्तर हुन्छ देश अहिले न त प्रधानमन्त्रीले भनेजस्तो सरकारको नियन्त्रणमा छ न सरकारले तत्काल नियन्त्रण गर्छ भनेर ढुक्क हुने अबस्थामा नै। कोरोना संक्रमणको कारण देश महासंकटमा छैन भने  प्रधानमन्त्रीले विश्व समुदायसँग सहयोग याचना किन गरेको त?

सत्तादेखि सडकसम्म सबैठाँउ संकट मोचनमा लाग्नुपर्ने बेलामा स्वयं सत्तारुढ र प्रतिपक्षि दलका नेताहरु सत्ता उल्टाउने र सत्तामा कसरी उक्लिने भन्ने रणनीतिक छलफल र भेटघाटमा व्यस्त हुने बेला अहिले हो त? विपक्षी दलहरुले सत्ताको भ-याङ चढ्नलाइ उपयुक्त समय अहिले हो भनेर जवाफ दिन सक्लान्? सरकारदेखि नागरिकसम्म सबैले अहिले गर्नुपर्ने एकमात्र काम हो कोरोना संक्रमणको जोखिम घटाउने। यसका लागि नागरिकले गर्न सक्ने भनेको प्रश्न मात्र हो।

यो बेला सबैको ध्यान संकट मोचनमै केन्द्रित हुनुपर्ने हो। तर त्यस्तो भैरहेको छैन। जे काम अहिले नगर्दा हुन्छ त्यही काममा सत्तारुढ र अन्य दलले समय खर्चेका छन्। तीनजना मन्त्रीहरु कोरोना संक्रमित छन्।

दुइदर्जन बढी सांसदमा पनि कोरोना पोजिटिभ देखिएको छ। सरकार र राजनीतिक परिदृष्यमा अहिले जे मञ्चन हुदैछ त्यो देख्दा जो कसैले भन्छ अबस्था नियन्त्रणमा लिनुको सट्टा सरकार कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै गरिरहेको छ।

कोरोना संक्रमणको सकस उच्च रहेको यो बिषम परिस्थितिमा बैशाख २७ गते संसद बैठक बोलाइएको छ। संसद बैठक अहिले नै बोलाउनु पर्ने आवश्यकता किन पर्यो? प्रधानमन्त्रीले अहिले विश्वासको मत नलिदाँ आकाश खस्छ? विश्वासको मत लिनका लागि प्रधानमन्त्रीसँग फुर्सद र समय पहिले पनि थियो र पछि पनि आउनेछ।

अनुभव नै हुनेगरी देश विधि र पद्दति बाहिरबाट चल्न थालेको एक वर्ष भयो। यो एक वर्षमा प्रतिपक्ष कहाँ थियो जसले सरकारले विधि मिचेको देखेन र अहिले एक्कासी ब्युझियो?

सत्तादेखि सडकसम्म सबैठाँउ संकट मोचनमा लाग्नुपर्ने बेलामा स्वयं सत्तारुढ र प्रतिपक्षि दलका नेताहरु सत्ता उल्टाउने र सत्तामा कसरी उक्लिने भन्ने रणनीतिक छलफल र भेटघाटमा व्यस्त हुने बेला अहिले हो त? विपक्षी दलहरुले सत्ताको भ-याङ चढ्नलाइ उपयुक्त समय अहिले हो भनेर जवाफ दिन सक्लान्?

सरकारदेखि नागरिकसम्म सबैले अहिले गर्नुपर्ने एकमात्र काम हो कोरोना संक्रमणको जोखिम घटाउने। यसका लागि नागरिकले गर्न सक्ने भनेको प्रश्न मात्र हो। सरकारलाई जवाफदेही र जनउत्तरदायी बनाउन सहयोगी अनगिन्ती प्रश्न सोध्ने भनेको नागरिकले हो। संकटमा समेत नियमित रुपमा कर तिरेका नागरिकप्रति सरकार जवाफदेही हुनुपर्छ। उत्तरदायित्वबाट पन्छिन मिल्दैन।

तत्काल संक्रमितको उपचार सरकारको पहिलो प्राथमिकता हुनुपर्छ। यसबाट सरकार भाग्न मिल्दैन। विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि स्वीकृत दिएका पाँचमध्ये जुन खोप जहाँ जति सहज रुपमा पाइन्छ तत्काल ल्याउनु पर्छ। आजभोली नै खोप नआउला तर नागरिकले चाल पाउने गरी सरकारले पहल गर्नुपर्छ।

कमिशनखोरले खोप ल्याउन दिएनन् भनेर सरकार उसको दायित्वबाट भाग्न मिल्दैन। किन त्यस्ता कमिशनखोरलाई कार्वाही नगरी संरक्षण गरेको? आफ्नो भागको कमिशनमा भागबण्डा नमिलेर आफु पानीमाथिको ओभानो देखिनमात्र यस्तो फण्डा खडा गरेको त हैन?

किनभने कमिशनबीना हाम्रा नेता र कर्मचारीतन्त्रले काम गर्दैन भन्ने त जगजाहेरै छ। कमिशनको कारण खोप ल्याउन सकिन भन्दा नागरिकका औंला सरकारतीरै सोझिन्छन्।

देशमा पर्याप्त अक्सिजन उत्पादन हुन्छ तर सरकारले सिलिण्डर जोहो गरोस् भनेर व्यवसायिले भनिरहँदा सरकारले तत्काल अक्सिजन सिलिण्डर जुटाउन किन सकिरहेको छैन? त्यसका लागि पहल के गरिरहेको छ? यतिमात्र उत्तर दिदाँ पनि सरकारप्रति विश्वास बढ्छ।

भएका कोभिड अस्पतालमा बेड छैन भने अन्य अस्पताललाई छिनभरमै कोभिड अस्पताल बनाउन किन ढिलाई? देशबासीको नाममा संवोधन गर्दा तत्कालै यसो गरिनेछ भनेर स्वयं प्रधानमन्त्रीले नै भनेको हैन र? भेन्टिलेटर छैनन् जग जाहेर छ तर अहिले र बिगत एक वर्षमा पर्याप्ट भेन्टिलेटर किन्न पहल भयो की भएन?

भएन भने किन नगरेको? तत्काल काम गर्नका लागि भएका नीति नियम बाधक छन् भने तीनलाई तत्काल परिमार्जन गर्न सरकारलाई केही कुराले रोक्छ र? सेरम इन्टिच्युटबाट कोभिसिल्ड भ्याक्सिन किन्न त भएका नीति नियम बाधक भएनन्।

प्रधामन्त्रीले सिएनएनलाई थप कुरा पनि भनेका छन् ‘लापर्वाहीका कारण कोरोना संक्रमण फैलियो।’ लापर्वाही कसले गर्यो? जसलाई सोध्दा नि उत्तर उस्तै आउन सक्छ। लापर्वाही सरकारले गरेको छ। कोरोना संक्रमण बिरुध्द पालना गर्नुपर्ने न्युनतम स्वास्थ्य मापदण्ड सरकारले नै उलंघन गरेको छ।

कहिले शक्ति प्रदर्शनका लागि बैमौसमी आमसभा, गुटका भेला गरेर, कहिले धार्मिक -याली र तीनको उद्घाटन गरेर त कहिले निर्माण हुन नसक्ने र निर्माण सम्पन्न नै नभएको भौतिक संरचनाको शिलान्यास र उद्घाटन गरेर।

तर बिडम्बना अहिले गर्नै पर्ने कामहरु कम र अहिले नगर्दा पनि हुने सत्ता परिवर्तनको खेलमा सरकार र दलहरु अलमलिएका छन्। अहिले नै यो सबै किन भइरहेछ? अहिले नै बेमौसमी बाजाहरु किन बजिरहेछन्? बाजाबाट निस्केको धुन किन कर्कस सुनिइरहेको छ?

प्रश्नहरु अनगिन्ती छन्। तर प्रश्नहरु गर्नेले जवाफ पाउन्नन्। उल्टो दलका साइवर सेनाको आक्रमणमा पर्छन्। नागरिकका प्रश्न सुन्ने र जवाफ दिनु पर्नेहरुले नै गर्नु पर्ने काम नगरिरहँदा देश गहिरो संकटमा पर्ने खतरा बढेको छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो