साेमबार संसदमा जे देखियो

डिसी नेपाल
२८ वैशाख २०७८ ८:१८

काठमाडाैं। एउटै पार्टी जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा पार्टी तटस्थ बस्ने घोषणा गरे।

तर त्यही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले भने विश्वासको मतको विपक्षमा मत दिन आह्वान गरे। संसदीय प्रणालीमा अनौठो लाग्ने यस्तो दृष्यपछि सामाजिक सञ्जालमा समेत चर्चा भयो।

रोष्टममा बोलिरहँदा महन्थले महन्थले मधेस आन्दोलनका बेलाका मुद्दा फिर्ता प्रकृया शुरु गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए। तर उनै पार्टीका उपेन्द्रले सरकारप्रति आक्रोश ओकले।

सरकारले काम गरेन भनिरहँदा उपेन्द्रले के बिर्से भने आफू पनि ओली सरकारमा केही समय स्वास्थ्य र कानूनमन्त्री थिए। मधेस आन्दोलनका मुद्दा फिर्ता गर्ने दिशामा सरकारले गरेको प्रयासलाई समेत उपेन्द्रले ठट्टामा उडाइदिए। उनले यसो भनिरहँदा एकछिन अगाडि यही कामका लागि ओलीलाई धन्यवाद दिएका महन्थको भावभंगीमा हेर्न लायक देखिन्थ्यो।

पुष्पकमल दाहाल प्रचण्ड भर्सेस केपी ओली

संसदमा सम्बोधन गर्दा प्रचण्ड भावुक देखिए। संविधानबाद र लोकतन्त्रको पहरेदारको रुपमा आफूलाई पुष्टि गर्न उनले निकै समय खर्चिए। ओलीलाई अस्थिरताका प्रतिक सम्म भन्न भ्याए। तर उनै दाहालले आफू प्रधानमन्त्री बन्न चाहेका दिनदेखि देशमा अस्थिरता निम्तिएको हो भन्ने कुरा भने लुकाए।

समस्याको जड आफू हैन ओली हुन् भन्ने कुरामा उनले धेरै समय खर्च गरे। उनले आफ्नो लामो भाषणमा यो सरकारले काम गरेन भन्न भने सकेनन्। किनभने सरकारलाई काम गर्न नदिने भनेर ओलीले पटक पटक प्रचण्डकै दोष देखाइरहेका हुन्छन्।

आफ्ना नेता बोल्दै गर्दा संसदमा टेबल ठोकिए। ताली गुञ्जीए। हाँसोका फोहरासमेत छुटे। ओलीको दुवै पटकको सम्बोधनमा सदा झैं हास्यरस थियो। तर सबैका मुख मास्कले छोपिएकोका कारण कसैको अनुहारको भावभंगी राम्रोसँग देख्न पाइएन।

प्रचण्डले बोल्दा ओलीको र ओलीले बोल्दा प्रचण्डको अनुहारको भाव हेर्न लायक हुन्थ्यो। प्रचण्डले त भाषणमै भने ‘मेरो त मनमा जे खेलिरहेको हुन्छ अनुहारमा पढ्न सकिन्छ तर ओलीजी त अनुहारमा एक, मनमा अनेक कुरा खेलाउने सक्ने क्षमताको हुनुहुँदो रहेछ।’

आफूपछि देउवा, प्रचण्ड, महन्थ, उपेन्द्र र अन्य नेताहरुले बोलिरहाँ प्रधानमन्त्री ओली बेलाबेला केही टिपोट गरिरहेका देखिन्थे। टिपोट गर्न छोडेका बेला उनी वक्ताको अनुहार र हाउभाउ नियालिरहेका हुन्थे। अन्य नेताले आफूमाथि बिरोध गर्दा समेत व्यंगको बाण छेड्न र अर्कोलाई भुतुक्क पार्न खप्पिस ओली बैठक अवधिभर मास्कमा भएकोले उनको कुटिल मुस्कान हिजोको बैठकमा देख्न पाइएन।

विश्वासको मतको परिणाम ओलीको आँकलन बाहिर पक्कै थिएन। तथापि उनी को कति पानीमा रहेछन् भनेर आफ्ना समकक्षी नेताको पाइन नाप्न चाहान्थे पनि। मैले नै विश्वासको मत मागेकोले सबैलाई यो अवसर जुटेको उनको ठहर थियो। विश्वासको मत दिन्नन भन्ने थाहा हुदाँहुदै पनि उनी मत भने मागिरहेका थिए।

प्रधानमनत्री ओली आफ्नो पहिलो सम्बोधनमा ढुक्क थिए। आत्मविश्वासका साथ बोलिरहेका थिए। त्यसको तुलनामा नेताहरुका प्रश्नको जवाफ दिने क्रममा रोष्टममा पुग्दा ओली अलि हतास देखिन्थे। दर्शकलाई महशुस हुनेगरी नै उनलाई स्वास प्रस्वासमा असहज भएको थियो।

आफू र महन्थ बाहेक कसैले पनि एकशब्द तारिफ नगरेको टुलुटुलु हेर्दा र सुन्दा ओली हतास हुनु स्वभाविक थियो। र पनि उनले जवाफ दिने क्रममा प्रयोग गरेका शब्द र तीनका भाव बलिया र आरोपका लागि आरोपमात्र लगाउने नेताका लागि कडै जवाफ थिए।

उमेर र स्वास्थ्य अबस्था दुवै कारणले हुनसक्छ महन्थ, देउवा र ओलीले अब सक्रिय राजनीतिबाट बाहिर बस्नुपर्छ। जनु कुरा उनीहरुको हिडाईँ र बोलाइले प्रष्ट बुझाउँथे। देउवा त ओलीभन्दा पनि कमजोर देखिए।

नेपालीको दुर्भाग्य नै भन्नुपर्छ एउटा अहंकारी नेताको अवसानपछि उसको विकल्पको एक नम्बरमा उनै देउवा छन् जो बिगतमा पटक पटक अक्षम घोषित भएका छन्। नेपाली काँग्रेसको राजनीति कमजोर हुनुपनि देउवाको यही बिशेषता हुनसक्छ।

मास्कको प्रयोग

संसदमा हिजो पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मास्क लगाउने शैलीलाई धेरैले हाँसोको बिषय भयो। सामाजिक सञ्जालमा त त्यसलाई ‘फोटो अ दि डे’ समेत भनेर पोष्ट गरेको देखिन्थ्यो। दुइटा मास्क लगाएका यावदको मुखबाट एउटा सर्जिक मास्क भने चिउँडोमुनि र अर्कोले अनुहार छोपिएको थियो।

प्रधानमन्त्रीले पहिलो सम्बोधनपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी नेता शेरबहादुर देउवाको नाम उच्चारण गर्न शुद्धसँग गर्न सकेनन्। उनले पटकपटक यस्तो गल्ती गरिरहे। सामाजिक सञ्चालमा उनको यही कुरालाई उल्लेख गर्दै चर्चा भयो सापकोटा नि बोल्न नै नसक्ने गरी किन कमजोर भएछन्?

एकअर्काप्रति आरोप प्रत्यारोपमा केन्द्रित

हिजोको संसद बैठक धेरैपछी एउटा रोचक र घोचक बैठकको रुपमा रहेको थियो। प्रधानमन्त्री ओलीले सदा झै आफ्नो कामको फेहरिस्त प्रस्तुत गरे। त्यसपछीका वक्ताले त्यसको खण्डन गरे। प्रचण्डले त धेरै समय ओलीको बिरोधमै समय बिताए।

उपेन्द्रको आक्रोश पनि ओलीप्रति नै थियो। साेमबारकाे  बैठकमा सबभन्दा परिपक्क र तयारीका साथ कोही प्रस्तुत भएको थियो भने ती नेका सभापति शेर बहादुर देउवा नै थियो। उनको प्रधानमन्त्री ओली बिरुध्दको भाषण जबर्जस्त थियो।

उनी बोलिरहँदा सामाजिक सञ्जलामा ट्वीटरमा एकजनाले लेखे ‘ओली बिरुद्ध यति जबर्जस्त तयारीका साथ संसदमा प्रस्तुत हुनसक्ने देउवाले आजसम्म किन अविश्वासको प्रस्ताव राखेन भन्ने चाँही बुझ्न सकिएन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *