रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेको छ। बैठकमा सुनसरीमा भएको घटनासहित मुलुकको पछिल्लो राजनीतिक अवस्था र सामाजिक सद्भावका विषयमा गम्भीर छलफल भएको छ।
यद्यपि, संवेदनशील विषयमा आयोजना गरिएको उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएनन्। सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरूको अनुपस्थितिले राजनीतिक वृत्तमा विभिन्न टिप्पणी र चासो उत्पन्न गरेको छ।
सुनसरीमा एक जनाको मृत्यु हुने घटनापछि तराई–मधेशका विभिन्न क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेका छन्। घटनालाई लिएर सरकारको भूमिकामाथि नागरिकस्तरबाट प्रश्न उठिरहेका बेला समाधानको साझा उपाय खोज्ने उद्देश्यले सर्वदलीय बैठक बोलाइएको रास्वपाले जनाएको छ।
बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी भएका थिए।
बैठकको उद्देश्यबारे जानकारी दिँदै रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरी घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र आपसी विश्वास कायम गर्न राजनीतिक दलहरूले साझा धारणा सार्वजनिक गर्नु आवश्यक भएको बताए। उनका अनुसार यस्ता संवेदनशील घटनापछि प्रशासनिक पहल मात्र पर्याप्त नहुने भएकाले सबै राजनीतिक दलबाट संयम, एकता र शान्तिको सन्देश दिन सर्वदलीय छलफल आयोजना गरिएको हो।
बैठकमा सहभागी नेताहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भाव कायम राख्ने पहल तथा तनाव थप बढ्न नदिन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने विषयमा धारणा राखेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment