नयाँ सरकार गठन : यी तीन स्वतन्त्र सांसद के गर्लान् ?

सम्भव सिंह ठकुरी
२८ वैशाख २०७८ १२:३०

काठमाडौं। विश्वासको मत लिने प्रयोजनले आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका छन्।प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ।

विपक्षी तीन दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी,नेपालले संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

सोही अनुसार वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० सम्मको समय निर्धारण गरेकी छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) वमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई बैशाख ३० साँझ ९ बजे भित्रमा प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी छिन्।

नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेर सबै विपक्षी गठबन्धनहरुलाई आज दिउँसो २ बजे बुढालिनकण्ठमा बैठकका लागि बोलाएको छ।

तर संसद भित्र तीन पार्टीका एक्ला संसद पनि छन्। जसमध्ये राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देन संसदमा उपस्थिति नै जनाएनन् भने राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए।

नयाँ सरकार गठनका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर समूहले सहभागी नहुने वक्क्तव्य निकालेसँगै विपक्षी गठबन्धनको नेतृत्व लिएका कांग्रेस सभापति देउवालाई सांसद संख्या पुर्याउन सकस परेको अवस्थामा यी तीन सांसद के गर्लान्?

राप्रपाका सांसद राजेन्द्र लिङ्देन सोमबार प्रतिनिधिसभा अधिबेशनमा उपस्थिति नजनाउनुको कारण अहिले राप्रपा सरकार ढाल्ने र बनाउने प्रक्रियामा नलागेको बताउँछन्।

‘प्रधानमन्त्री ओली सरकार पूर्ण रुपमा असफल भएको हो। तर उनको विकल्प खोजिँदै गर्दा यो अहिलेको राजनीतिक व्यवस्थामा अरु पनि प्रधानमन्त्री ओली झैंं नै हुने भएकाले हामी सरकार बनाउने र टिकाउने खेल भन्दा पनि अहिलेको व्यवस्थाको विकल्प खोज्ने हाम्रो प्रष्ट धारणा हो। त्यसकारण हामी अब बन्ने भावी सरकारमा सहभागी हुँदैनौं,’ उनले भने।

नेकिमपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री ओली सरकार स्वच्छाकारी भएकाले आफूले विपक्षमा मतदान गरेको बताए। ‘तर मैले हिजो संसदमै भनेको थिएँ अबको राजनीतिक विकल्प भनको प्रजातान्त्रिक परिपाटी अनुसार ताजा जनादेश हो। त्यसकारण हाम्रो पार्टीको धारणा नयाँ सरकार बनाउने भन्दा पनि ताजा जनादेशको पक्षमा छ,’ उनले भने।

जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री ओली जनताप्रति उत्तरदायी सरकार नभएको, भ्रष्टचारलाई संरक्षण गरेकाले विपक्षमा मतदान गरेको बताइन्। ‘उहाँको विकल्प खोेज्नुपर्ने अहिलेको अनिवार्य आवश्यक्ता भएको छ,’ उनले भनिन्, ‘तर अब बन्ने नयाँ सरकारमा हामी सहभागी हुन्नौं। तर सरकार बनाउने प्रक्रियामा सहजताको वातावरण सृजना गर्नेगरी समर्थन गर्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *