रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु

डिसी नेपाल
१३ साउन २०८३ ८:५१

काठमाडौं। रास्वपा नेतृत्वको सरकारको आह्वानमा सुनसरीमा भएको पछिल्लो घटनालगायत मुलुकको समसामयिक राजनीतिक तथा सुरक्षा अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रधानमन्त्री रवि लामिछानेको पहलमा बोलाइएको बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओलीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

बैठकमा विशेषगरी सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय, राजनीतिक दलहरूको साझा धारणा तथा शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको घटनाले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने अवस्था सिर्जना भएकाले राजनीतिक दलहरूले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने आवश्यकता महसुस गरी सर्वदलीय बैठक आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार प्रशासनिक तहबाट शान्ति–सुरक्षा कायम गर्ने प्रयास भइरहेका बेला राजनीतिक नेतृत्वबाट पनि एकताबद्ध सन्देश प्रवाह गर्नु आवश्यक देखिएको छ। द्वेष, अफवाह र सामाजिक विभाजनलाई रोक्दै आपसी सद्भाव कायम गर्न सबै दलबीच सहमति र समन्वयको वातावरण निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको उनले बताए।

सुनसरी घटनापछि विभिन्न क्षेत्रमा तनाव देखिएको, प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको तथा राजनीतिक दलहरूबीच साझा धारणा निर्माणको आवश्यकता बढिरहेका बेला आयोजित यस बैठकलाई वर्तमान परिस्थितिमा महत्त्वपूर्ण राजनीतिक पहलका रूपमा हेरिएको छ। बैठकपछि संयुक्त धारणा वा साझा अपिल जारी हुने सम्भावना पनि रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *