खाद्य अनुसन्धान अधिकृतसहित चार जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध २८ लाख २० हजार ३७५ रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अनुसन्धानका क्रममा अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठले खाद्य आयात अनुमति तथा अन्य सार्वजनिक सेवा सहजीकरण गरिदिने भन्दै विभिन्न बैंक खातामा घुस रकम जम्मा गराएको पुष्टि भएको जनाइएको छ।
अधिकारीको खातामा १ लाख ३९ हजार रुपैयाँ, बसन्तकुमार बस्याल क्षेत्रीको खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ र सुरेश चौधरीको खातामा २ लाख ६९ हजार रुपैयाँ गरी कुल २८ लाख २० हजार ३७५ रुपैयाँ रकम दाखिला भएको पाइएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेको आरोपमा चारै जनाविरुद्ध बिगो तथा कानुनबमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment