माधव समूहको रणनीतिः देउवा सरकारमा सहभागी हुने, एमाले छाड्ने

खेमराज थापा
२८ वैशाख २०७८ १९:१४

काठमाडौं। सत्तारुढ दल एमालेमा समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपाल समूह अन्ततः एमाले छाड्ने मनस्थितिमा पुगेको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपाल अब एमालेमा आफूहरुका लागि ढोका बन्द भएको निष्कर्षमा पुगेका छन्। उनी निकट नेता प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी भन्छन्, ‘एमाले हाम्रो पनि घर हो, थियो। तर, त्यसमा भोटे ताल्चा लगाएर हामीलाई लखेटेपछि के गर्ने?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउन नसकेपछि कामचलाउ प्रधानमन्त्री भइसकेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई गठबन्धन सरकार बनाउने दावी पेश गर्न बिहीबार राति ९ बजेसम्मको समयसीमा दिएकी छन्।

तर, यसरी समयसीमा दिएको २४ घण्टा बितिसक्दा नयाँ सरकारको तस्वीर आइसेको छैन। काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन माओवादी पनि तयार छ। जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह पनि तयार छ। र जनमोर्चाको एक सिट पनि यो गठबन्धनले पाउने देखिन्छ। तर, सरकार बनाउन हाल आवश्यक पर्ने १३६ को जादुमयी संख्या भने यो गठबन्धनसँग पुगिसकेको छैन।

त्यसैले विपक्षी गठबन्धनले एमालेकै विपक्षी समूह माधवकुमार नेपाल समूहको सहयोग लिने रणनीति बनाएको छ। र माधव समूह पनि त्यसमा तयार रहेको दावी उनी निकट नेता चौधरीले गरेका छन्। नेता चौधरीले डिसी नेपालसँग भने, ‘हामी राजीनामा दिएर काँग्रेसलाई सहयोग गर्छौ। हामी पनि देउवा नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन्छौं।’ उनका अनुसार विपक्षी गठबन्धनलाई १२६ सिटले बहुमत पुग्नेगरी माधव समूहका सांसदहरुले राजीनामा दिनेछन्।

२७५ सदस्यीय प्रतिनिधिसभा हाल २७१ सदस्यीय कायम छ। माधव समूहका २२ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभा २४९ सदस्यीय कायम हुनेछ। बहुमतका लागि १२६ सिट आवश्यक हुनेछ। त्यस्तो अवस्थामा काँग्रेसको ६१, माओवादीको ४९ र उपेन्द्र समूहको १५ तथा जनमोर्चाको १ सिटले विपक्षी गठबन्धनको बहुमत पुग्नेछ। यद्यपी सोमबार प्रतिनिधिसभामा मतविभाजन हुँदा उपेन्द्र समूहमा १७ जना रहेको देखिएको छ। यादवले काँग्रेस नेताहरुसँग यो संख्या अझै बढ्न सक्ने बताएका छन्।

एमालेमा चर्किरहेको विवादमा ओलीलाई जसरी पनि सत्ताबाट हटाउने रणनीति लिएको नेपाल समूह विपक्षीलाई बहुमत नपुग्ने देखेपछि राजीनामा दिएर सहज बनाउन तयार भएको हो।

नेता चौधरीले भने, ‘काँग्रेससँग राजीनामा दिएका सांसदहरुको स्थानमा हुने उपनिर्वाचनमा सहयोगबारे पनि सहमति हुनेछ।’

राजीनामा दिएर विपक्षीलाई सरकार बनाउन सहयोग गरिसकेपछि माधव समूहले एमाले छाड्ने र आम निर्वाचन अगाडि प्रचण्डसँग एकता गर्ने तयारी छ। नेता चौधरीले भने, ‘प्रचण्डसँग एकता गर्नुपर्ने आजको आवश्यकता भइसकेको छ। नत्र त संसदीय राजनीतिमा कसरी अगाडि बढ्न सकिएला र?’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *