बुढानिलकण्ठमा देउवा र माधव नेपालबीच एक घण्टा छलफल

डिसी नेपाल
२८ वैशाख २०७८ २२:१२

काठमाडौं। नयाँ सरकार गठनका लागि दलहरुबीच तिब्र छलफल चलिरहेका बेला एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। नेता भीम रावललाई साथमा लिएर नेता नेपाल बुढानिलकण्ठ पुगेका हुन्।

साढे ८ बजेपछि बुढानिलकण्ठ पुगेका नेता नेपाल सवा ९ बजे फर्केका थिए। छलफलका क्रममा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का पनि साथमै रहेको स्रोतले जनायो। उनीहरुबीचको छलफल नयाँ सरकार बनाउने विषयमै केन्द्रित रहेको बुझिएको छ।

नेता नेपाल समूहले सामूहिक राजीनामा दिएर देउवालाई प्रधानमन्त्री हुने बाटो सहज बनाउने तयारी गरिरहेको चर्चा भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। संसदको गणितका कारण माधव समूहले सामूहकि राजीनामा नदिए ओली सरकारलाई विस्थापित गर्न नसकिने देखेपछि माधव समूहले राजीनामाको तयारी गरेको छ। तर, देउवा र नेता नेपालबीच यो विषयमा लिखित सम्झौता भने भइसकेको छैन। आ आफ्ना विश्वास पात्रलाई राखेर देउवा र नेता नेपालले मंगलबार राति गरेको वार्ताले बिहीबारसम्म कुनै नतिजा दिने सम्भावा रहेको नेताहरुको भनाइ छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका ९ बजेसम्मको समयसीमा दिएकी छन्। सो समयसीमा भित्रै बहुमत पुर्याएर सरकारको दावी गर्ने काँग्रेसले बताइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *