प्रधानमन्त्री ओलीमाथि अमेरिकाको प्रतिष्ठित मिडिया सीएनएनको गम्भीर आरोप

डिसी नेपाल
३० वैशाख २०७८ १२:०१

काठमाडौं। प्रतिनिधिसभाबाट विश्वासको मत नपाइ पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अमेरिकाको प्रतिष्ठित मिडिया सीएनएनले गम्भीर आरोप लगाएको छ ।

नेपालमा कोरोनाभाइरस महामारी अत्यन्तै गम्भीर अवस्थामा पुगेका बेला यहाँ नयाँ सरकार गठनको विषयमा भइरहेको राजनैतिक प्रयासका विषयमा लेखिएको समाचारमा प्रधानमन्त्री ओलीमाथि देशमा कोरोनाभाइरस महामारी फैलाउन जिम्मेवार भएको आरोप लगाइएको छ ।

पत्रकार जेसी येउङले लेखेको समाचारमा प्रधानमन्त्री ओलीले अप्रमाणित कोरोनाभाइरस उपचारलाई प्रबद्र्धन गरेको र देशमा संक्रमणका केसहरु बढिरहेका बेला स्वयं भीडभाडयुक्त कार्यक्रमहरुमा सहभागी भएर भाइरस संक्रमण फैलाउन भूमिका खेलेको आरोप लगाइएको छ ।

केही दिनअघि मात्र प्रधानमन्त्री ओलीले यही अमेरिकी मिडियालाई अन्तरवार्ता दिँदै नेपालमा कोरोनाभाइरस संक्रमण ‘नियन्त्रणमा रहेको’ दावी गरेका थिए जबकि देशमा मंगलबार मात्र २२५ जनाको मृत्यु भएको थियो । यो महामारी सुरु भएयताकै सर्वादिन एक दिनको मृत्यु संख्या हो ।

रिपोर्टमा नेपालमा कोरोनाभाइरस संक्रमण दर अप्रिल महिनाको सुरुवातमै बढ्न थालेको भए पनि सरकारले यसको रोकथाममा ढिलासुस्ती गरेको, ठूलो संख्यामा मानिसहरु जम्मा भएर धार्मिक उत्सव र विवाह कार्यक्रम गर्न दिएको र अन्य भिडभाडयुक्त कार्यक्रम चल्न दिइरहेको आरोप लगाइएको छ ।

अप्रिल ८ मा प्रधानमन्त्री ओलीले अम्बाको पात पकाएर कुल्ला गर्दा भाइरस नियन्त्रण हुने भनेको र १ वर्षअघि नेपालीले खाने मसलाले नेपालीको रोग प्रतिरोधी क्षमता बढी हुने दावी गरेकोप्रति पनि समाचारमा आलोचना गरिएको छ ।

मे ८ मा सीएनएनलाई दिएको अन्तरवार्तामा देशमा भीडभाडयुक्त कार्यक्रम गर्न दिइएको विषयमा प्रश्न सोधिँदा ओलीले ‘केही गल्तीहरु’ भएको बताउँदै यसलाई राजनैतिक विषय बनाइन नहुने बताएका थिए ।

तर, त्यसको २ दिनपछि द गार्डियनमा प्रकाशित एक लेखमा भने ओलीको कुरा नाटकीय रुपमा परिवर्तन भएको थियो र उनले देशमा संक्रमित बिरामीहरुले स्वास्थ्य सेवा नपाएको स्वीकार गरेका थिए । लेखमा प्रधानमन्त्रीले विदेशी समुदायसँग सहयोगका लागि अपिल पनि गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *