सैनिक अस्पतालमा आम नागरिकलाई कोभिडको उपचार

डिसी नेपाल
५ जेठ २०७८ ११:५८

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका अस्पतालमा विमारीको संख्या ह्वात्तै बढेको छ।

अधिकांश अस्पतालले अक्सिजन अभावका कारण बिरामीलाई भर्ना गर्न नसकिने जनाउँदै आइरहेका बेला नेपाली सेनाले भने छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोभिडका विरामीलाई उपचार गरिरहेको छ।

यसअघि नेपाली सेना र उनीहरुका परिवारका सदस्यले मात्र उपचार पाउने वीरेन्द्र सैनिक अस्पतालमा बेडको उपलब्धता र प्राथमिकताको आधारमा आम नागरिकको उपचार भइरहेको छ।

कुल १ सय ७५ बेड क्षमताको अस्पतालमा अहिले नेपाली सेना र सैनिक परिवारबाहेक बेडको उपलब्धता र प्राथमिकताको आधारमा अन्य नागरिकको पनि उपचार गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

‘बेडको उपलब्धता र प्राथमिकताका आधारमा कोभिड हेल्पडेक्सले गरेको सिफारिसमा अहिले वीरेन्द्र सैनिक अस्पतालमा सिभिलियन (गैरसैनिक) को पनि उपचार भइरहेको छ,’ प्रवक्ता सहायकरथी पौडेलले डिसी नेपालसँग भने।

वीरेन्द्र सैनिक अस्पतालमा फोन गरेर जाने कोरोना संक्रमितलाई प्राथमिकताका आधारमा उपचार गराउने गरिएको छ। सैनिक कल्याणकारी कोषमार्फत संचालन भएको सैनिक अस्पतालमा आम नागरिकको उपचार गर्दा भने प्राविधिक समस्या आएको अस्पताल स्रोतले जनाएको छ।

सैनिक र उनीहरुको परिवारलाई निशुल्क उपचार हुने उक्त अस्पतालमा आमनागरिकलाई उपचार गर्दा शुल्क लिने वा नलिने भन्नेमा अन्यौलता भएको हो।

‘वीरेन्द्र सैनिक अस्पतालमा उपचार गर्ने भनेको सैनिक र उनीहरुको परिवारको हो। त्यो सबै कल्याणकारी कोषले निशुल्क व्यवस्था गर्ने गरेको छ,’ अस्पताल स्रोतले भन्यो, ‘अहिले सिभिलियनको पनि उपचार भइरहेको छ। अहिलेसम्म त हामीले उहाँहरुको पनि निशुल्क उपचार गरिरहेका छौं। अब उहाँलाई शुल्क लिने कि नलिने भन्ने समस्या भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *