परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व
पाल्पा। बिहानको शान्त वातावरणमा तानसेनका गल्ली, चोक र घरका ढोकामा सारङ्गीको मधुर धुनसँगै मालश्री गुञ्जियो। हातमा सारङ्गी र मनमा पुख्र्यौली संस्कृतिप्रतिको माया बोकेर तानसेन–६ का ७३ वर्षीय रामबहादुर गन्धर्व यस वर्ष पनि दशैँको नवरात्रमा मालश्री गाउन निस्किए।
घटस्थापनादेखि नौ दिनसम्म उहाँ हरेक बिहान करिब ३ देखि ५ बजेसम्म तानसेनका गल्ली, चोक र घर–घरमा पुगेर सारङ्गी बजाउँदै मालश्री गाउनुभयो। उमेरले सात दशक पार गरे पनि उहाँको मालश्रीप्रतिको मोह घटेको छैन। उहाँका लागि मालश्री गीत मात्र नभई पुर्खाले छाडेर गएको सांस्कृतिक सम्पदा हो।
विगतमा गन्धर्व समुदायका धेरै व्यक्तिले दशैँको नवरात्र सुरु भएसँगै मालश्री गाउँदै गाउँबस्ती पुग्ने गर्थे। तर, नयाँ पुस्ताले चासो नदिनु र पुराना पुस्ताका कलाकारको निधन हुँदै जानुले यो परम्परा हराउँदै गएको छ।
रामबहादुरका अनुसार अहिले पाल्पा जिल्लामै मालश्री गाउने आफू एक्लो व्यक्ति हुन्। उनलाई आफूपछि यो परम्परालाई निरन्तरता दिने व्यक्ति नहुने चिन्ता छ। “पुराना सबै सकिए, नयाँले सिक्नै खोज्दैनन्। अब मपछि मालश्री गाउने पाउनै मुस्किल छ,” उनी भन्छन्।
उमेर बढ्दै गए पनि मालश्री गाउने र सारङ्गी बजाउने रहर भने उस्तै रहेको उहाँ बताउँछन्। तर, बुढ्यौलीका कारण पहिलेझैँ गाउँबस्ती पुगेर गीत गाउन सहज छैन।
गन्धर्व समुदायको परम्परागत पेसा सारङ्गी बजाउने र गीत गाउने भए पनि पछिल्लो समय यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन। अन्य पेसाबाट तुलनात्मक रूपमा राम्रो आम्दानी हुने भएकाले नयाँ पुस्ता वैकल्पिक रोजगारीतर्फ आकर्षित भएको समुदायका व्यक्तिहरू बताउँछन्।
स्थानीय बाबुराम गन्धर्वका अनुसार आर्थिक अवसरको खोजीमा नयाँ पुस्ता अन्य पेसातर्फ लाग्दा पुर्खादेखि चल्दै आएको पेसाले निरन्तरता पाउन कठिन भएको छ।
जीविकोपार्जनको चुनौतीले गर्दा संस्कृति जोगाउने चाहना हुँदाहुँदै पनि परम्परागत पेसालाई निरन्तरता दिन सहज नभएको उहाँको भनाइ छ। त्यस्तै, स्थानीय दिनेश गन्धर्व अहिलेको पुस्तामा मालश्री संरक्षणप्रति पर्याप्त चासो र महत्त्व देखिन नसकेको बताउँछन्। राज्यले संस्कृति संरक्षणमा चासो दिएर आवश्यक सहयोग गर्ने हो भने गन्धर्व समुदाय यो परम्परा जोगाउन तयार रहेको उनको भनाइ छ।
मालश्रीको धुनसँग जोडिएको परम्परा हराउनु एउटा गीत हराउनु मात्र नभई समुदायको पहिचान, पुर्खाको ज्ञान, धार्मिक आस्था र सांस्कृतिक इतिहास कमजोर हुँदै जानु पनि हो। तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष पदमराज न्यौपानेले मालश्री संरक्षणका लागि नयाँ पुस्तालाई यस परम्पराको महत्त्व बुझाउन र उनीहरूलाई सिक्ने वातावरण बनाउन आवश्यक रहेको बताए।
उहाँका अनुसार समाजले गन्धर्व समुदायका व्यक्तिहरूको समूह बनाएर सारङ्गी बजाउन र मालश्री गाउन सिकाउने विषयमा स्थानीय सरकारसँग पहल गरिरहेको छ।
“मालश्रीको संरक्षणका लागि नयाँ पुस्तालाई यस परम्पराको महत्त्व बुझाउनु, सिक्ने वातावरण बनाउनु र यसमा संलग्न कलाकारलाई प्रोत्साहन गर्न स्थानीय सरकार, संस्कृति संरक्षणमा काम गर्ने निकाय र सम्बन्धित सरोकारवालासँग ठोस पहल थालेका छौँ,” अध्यक्ष न्यौपानेले भने।
एक दशक अघिसम्म तानसेनका गाउँघर र बजारमा गन्धर्वले मालश्री गाएको सुन्ने र हेर्नेहरूको उत्साह देखिन्थ्यो। गाउँका चौतारी, कोटघर र शक्तिपीठमा मालश्री गुञ्जिँदा दशैँको रौनक थपिन्थ्यो। तर, अहिले ती ठाउँमा मालश्रीका धुन सुनिन छाडेका छन्।
रामबहादुर गन्धर्वले आफ्नो प्रयासबाट यो परम्परालाई जीवित राख्नुभएको छ। उनीपछि मालश्री गाउने व्यक्ति नहुने हो कि भन्ने चिन्तासँगै यो मौलिक संस्कृति जोगाउन नयाँ पुस्ताको सहभागिता र सम्बन्धित निकायको सहयोग आवश्यक देखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment