दक्षिण अफ्रिकी स्टार डेविड मिलर कर्णाली याक्समा अनुबन्ध, एनपिएल खेल्ने छैटौँ विदेशी खेलाडी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका विश्वचर्चित एवं विष्फोटक ब्याटर डेविड मिलरलाई अनुबन्ध गरेको छ। शुक्रबार क्लबले आधिकारिक घोषणा गर्दै आगामी एनपिएलका लागि दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका अनुभवी मध्यक्रमका बायाँहाते ब्याटर मिलरलाई भित्र्याएको जनाएको हो।
विश्व क्रिकेटमा ‘किलर मिलर’ को नामले चिनिने ३७ वर्षीय मिलरसँग अन्तर्राष्ट्रिय टी-२० क्रिकेटका साथै विश्वका शीर्ष फ्रेन्चाइज लिगहरूको विशाल अनुभव छ। उनले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ८०४ रन बनाएका छन्, जसमा दुई शतकीय र नौ अर्धशतकीय पारी समावेश छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा प्रहार गरेको कीर्तिमानी शतक टी-२० अन्तर्राष्ट्रिय इतिहासकै तीव्र शतकमध्ये एक मानिन्छ।
यस्तै, समग्रमा ५८४ टी-२० खेल खेलिसकेका मिलरले १२ हजार ४३५ रन बनाएका छन्, जसमा चार शतक र ५३ अर्धशतक सामेल छन्। इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, किङ्ग्स ११ पञ्जाब र दिल्ली क्यापिटल्सबाट खेलिसकेका उनले सन् २०२२ मा गुजरातलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका थिए। उनले आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमा शतक हानेका थिए।
कर्णाली याक्समा अनुबन्ध हुने मिलर छैटौँ विदेशी खेलाडी हुन्। यसअघि कर्णालीले पाकिस्तान टोलीका टी–२० कप्तान साहिबजादा फर्हान र अलराउन्डर हुसौन तलातलाई अनुबन्ध गरिसकेको छ। यस्तै, अघिल्लो सिजन टोलीमा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्डका स्पिन अलराउन्डर मार्क वाट, अरिफुल हक र अकबर अली पनि टोलीमा आबद्ध छन्।
कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकहरूको अपेक्षाअनुसार मिलरजस्ता विश्वस्तरीय खेलाडीलाई अनुबन्ध गर्न सफल भएकोमा खुसी व्यक्त गरे।
“हाम्रा समर्थकहरूले कर्णाली याक्सबाट ठूलो आशा राख्नुभएको छ। पहिलो सिजनमा हामीले भारतका दिग्गज ब्याटर शिखर धवनलाई ल्याएर नेपाली क्रिकेट र एनपिएलको उचाइ बढाएका थियौँ,” अध्यक्ष घिमिरेले भने, “यसपटक डेविड मिलरसँगै साहिबजादा फर्हान र हुसौन तलातको आगमनले कर्णालीलाई बलियो मात्र बनाएको छैन, समग्र एनपिएल र नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्नेछ। अब हाम्रो मुख्य लक्ष्य उपाधि जित्ने हुनेछ।”
आगामी कात्तिक ९ गतेदेखि सुरु हुन गइरहेको एनपिएलका लागि कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका तीव्र गतिका ब्याकअप अलराउन्डर सोमपाल कामी रहेका छन्। टोलीमा राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर गुल्शन झा र तीव्र गतिका बलर नन्दन यादव मुख्य खम्बाका रूपमा छन्।
यस्तै, कर्णाली प्रदेशका स्थानीय प्रतिभाहरू विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतका साथै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मासहितको सन्तुलित टोलीसहित कर्णाली याक्स मैदानमा उत्रिँदै छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment