बझाङमा खर काट्ने क्रममा भिरबाट लडेर वडाध्यक्ष टंक जोशीको निधन

डिसी नेपाल
६ कार्तिक २०८३ २०:०५
28
Shares

बझाङ । बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंकप्रसाद जोशीको खर काट्ने क्रममा भिरबाट लडेर दुःखद निधन भएको छ।

गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका बेला भिरबाट खसेर चट्टानमा बजारिँदा जोशी गम्भीर घाइते भएका थिए। भिरबाट खसेर चट्टानमा बजारिएपछि उनको कानबाट अत्यधिक रगत बगेको मृतकका आफन्त रामचन्द्र जोशीले जानकारी दिए।

गम्भीर घाइते जोशीको ज्यान जोगाउन र तत्काल उद्धारका लागि स्थानीय प्रशासन तथा गृह मन्त्रालयसँग समन्वय गरी हेलिकोप्टर पठाउने तयारी भइरहेको थियो। तर, हेलिकोप्टर उड्न नपाउँदै उनको घटनास्थलमै मृत्यु भएको दुःखद खबर प्राप्त भएको नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले बताएका छन्।

‘अवस्था असाध्यै गम्भीर छ र तुरुन्तै हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ, नत्र बाँच्न गाह्रो छ भन्ने आफन्तजनको भनाइपछि तुरुन्तै जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टर उडानको तयारी हुँदै थियो,’ एमाले नेता महरले भने, ‘खबर पाएको करिब आधा घण्टाभित्रै हेलिकोप्टर उडाउने तयारी भएको थियो, तर एकैछिनमा उहाँ रहनुभएन भन्ने दुःखद खबर आयो।’

स्थानीयस्तरमा निकै लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिएका जोशी दुई कार्यकाल वडाध्यक्ष निर्वाचित भएका थिए। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा विजयी भएका थिए।

दिवङ्गत वडाध्यक्ष जोशीका श्रीमती, दुई छोरा र एक छोरी छन्। उहाँको असामयिक निधनले यतिबेला सिङ्गो बुंगल क्षेत्र र बझाङ जिल्ला शोकमा डुबेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *