चुहावट र कोरोना प्रभाव माथिल्लो तामाकोशीमा : उत्पादन समय फेरि लम्बिने

उपेन्द्र शाही
६ जेठ २०७८ ११:२६
136
Shares

काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लिकेज अर्थात चुहावटको समस्या देखिएको छ। तोकिएको समयभन्दा दोब्बर समय पछि निमार्ण सम्पन्न भएको आयोजना सम्पन्न भए पनि हाल परीक्षणको क्रममा चुहावटको समस्या देखिएको छ। ४ सय ५६ मेगावाट क्षमताको उक्त आयोजना हाल निर्माण सम्पन्न भएर परीक्षणको चरणमा छ।

परीक्षणको चरणमा रहेको आयोजनाको हाल म्यान होलमा चुहावटको समस्या देखिएको आयोजना कार्यलयले जनाएको छ। यस्तै कोभिड १९ को प्रभावका कारण कामदारहरुमा कोरोना देखिए पछि आयोजना सञ्चालनमा थप समय लम्बिने देखिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।

‘अहिले आयोजना निमार्ण भएर टेस्टिङ एण्ड कमिस्निङ चरणमा छौँ,’ उनले भने,  ‘हाम्रो सुरुङमा पानी भर्दै टेस्ट गर्ने क्रममा म्यान होल पाइपमा लिकेजको समस्या देखिएको छ। हामी भविश्यमा त्यस्तो समस्या नआओस भनेर त्यसलाई दीर्घकालीन समाधान गर्नेगरी काम गरी रहेका छौँ। यसको लागि पानी फालेर भर्नु पर्ने हुन्छ। यो काम करिब ४/ ५ दिनमा सकेर बाँकी काम थालिने छ।’

जेठ दोस्रो हप्तादेखि विद्युत उत्पादन गर्नेे लक्ष्य राखेपनि कोभिडको प्रभाव र लिकेजको समस्याका कारण केही समय लम्बिने उनले बताए। हाल टेष्टिङको क्रममा सामान्य समस्या देखिएको बताउँदै उनले अब बाँकी रहेको टेष्टिङ सफल भएमा यही जेठ मसान्तसम्म जेनेटर सञ्चालन गरेर विद्युत उत्पादन गरिने बताए।

आयोजनाको पहिलो यूनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने छ। त्यसपछि क्रमशः अन्य ५ वटा युनिट सञ्चालन गर्दै जाने आयोजनाको तयारी छ।

कोरोना प्रभाव तामाकोशीमा

५ वर्षमा सम्पन्न निमार्ण सम्पन्न गर्ने लक्ष्यसहित २०६७ साल साउन महिनामा आयोजनाको काम शुरु गरिएको थियो। तर, साढे १० वर्ष बित्दा पनि विद्युत उत्पादन भने हुन सकेको छैन।

लामो समयदेखि अन्तिम चरणमा रहेको स्वदेशी लगानीको आयोजनालाई पहिले भूकम्पले असर गर्यो भने अहिले कोरोना भाइरसको प्रभावले। गत वर्ष कोरोनाको पहिलो लहरले प्रभावित बनेको आयोजना अहिले भयावह बनीरहेको दोस्रो लहरले प्रभावित बन्न पुगेको छ।

आयोजनाका प्रवक्ता न्यौपानका अनुसार टेस्टिङ एण्ड कमिस्निङका लागि भारतबाट आउनु पर्ने विज्ञहरु कति आउन सकेका छैनन्। आएका विज्ञ कामदारहरु पनि अहिले काठमाडौंका होटेल क्वारेन्टाइनमा बसीरहेका छन्। उनीहरु सरकारले तोकेको १० दिनको होटेल क्वारेन्टाइन सकेर अर्को हप्तामात्रै आयोजनास्थल फर्किदै छन्।

त्यस्तै खिम्तिमा रहेको सबस्टेसन क्षेत्रमा कार्यरत ५ जना इन्जिनियरहरु लगायत १० जना कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण अरुलाई नसल्कियोस भनेर कोही आइसोलेसन त कोही क्वारेन्टाइनमा बसेका छन्। उनीहरुलाई कोरोना टेष्टको व्यवस्था गरेर छिटो भन्दा छिटो काममा फर्काइने वातावरण निमार्ण गर्न लागिएको उनको भनाइ छ।

तीन गुणा लागत बढेको आयेजनाको व्याजमात्रै ३० अर्ब

प्रायः ठूला योजनाहरु विदेशी लगानीमा निर्माण हुन्छन्। माथिल्लो तामाकोशी यस्तो आयोजना हो जसमा स्वदेशी लगानी छ। आयोजना नेपाल सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान लगायत संस्थाहरुसँग ऋण लिएर निर्माण भएको हो। त्यसैले निमार्णको समय बढ्दै गए पछि लागत पनि बढेर अनुमानको करिब तीन गुणा वृृद्धि भएको छ।

शुरुवातमा करिब ३५ अर्ब २९ करोड लागत आकलन गरिएको आयोजनाको लागत बढेर ८२ अर्ब पुगेको छ। त्यसमध्यको ३० अर्ब त ब्याज मात्रै हो। यसरी ढिलाइ हुनुमा आयोजनाले विनाशकारी भूकम्प, ठेकेदार र कोरोनाको असरलाई मुख्य कारण बनाएको छ।

प्राधिकरण ऐतिहासिक सफलता नजिक, पहिलो पटक विद्युत बेच्ने तयारी

नेपाल विद्युत् प्राधिकरणले केही समयअघि मात्रै भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न अनुमति पाएको थियो। यसरी अनुमति पाए पछि प्राधिकरण विद्युत बेच्न तम तयार भएर बसेको छ।

प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको थियो भने जसै तामाकोशी प्रशारणलाइनमा जोडिन्छ त्यस लगत्तै भारतलाई विद्युत बेच्ने तयारीमा जुटेको छ।

निमार्ण कार्य सकियर तामाकोशी प्रशारणलाइनमा जोडिए पछि विद्युत बच्ने अवस्थामा पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले बताए। यसभन्दा अघि नेपाल विद्युत किन्दै आएको भए पनि अब भने नेपालले विद्युत बेच्ने उनको भनाइ छ।

शाक्यका अनुसार अहिले विद्युत धेरै भएको अवस्था छैन। तर, वर्षा याम शुरु हुन लागेकोले नदीहरुमा पानीको बहाब बढ्दै छ। त्यसैले सेप्टेम्बरसम्म बेच्नु पर्ने अबस्था हुन्छ। त्यसपछि अक्टोबरमा भने ब्यालेन्स हुन्छ। र नोभेम्बर र डिसेम्बरमा पानीको बहाव कम हुँदै जाने भएकाले फेरी किन्नु पर्ने हुन्छ।

उनले भने,  ‘तामाकोशीको ट्रायल अप्रेसन पछि परिक्षाण सकेर विद्युत बेच्न भारतसँग अनुमति लिइसकेका छौँ। प्रशारणलाइन तयार छ। बेलुका ५ देखि १० बजेको पिक आवर बाहेक अन्य समयमा ३ सय मेगावटसम्म विद्युत धेरै हुने अनुमान गरिएको छ। अब जसै तामाकोशी तयार भएर उत्पादन शुरु हुन्छ हामी बेच्न तयार हुन्छौँ।’

कानुनी तह भारतसँग विद्युत व्यापारको बाटो खुला भए पनि अन्य देशहरुलाई पनि बेच्ने विकल्प रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.