जर्मनीमा मनाइयो बुद्ध जयन्ती – Dcnepal

जर्मनीमा मनाइयो बुद्ध जयन्ती

सांकेतिक तस्वीर


जर्मनी । जर्मनीकाे  बायरोयथमा रहेका नेपालीहरुको आयोजनामा २५६५ औं बुद्ध जयन्ती मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि ल्याइएको नियमका कारण धेरै सहभागी हुन नसके पनि शान्तिका अग्रदुत भगवान गौतम बुद्धका उपदेशहरु संसारभर फैलाउँदै नेपाली भाषा संस्कृतिको प्रवर्द्धन गर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक लिलाराज कार्कीले बताए ।

कार्यक्रममा गैर अवासीय नेपाली संघ जर्मनीका उपाध्यक्ष डा. यज्ञ अधिकारीले ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै गौतम बुद्धको उपदेश संसारभर फैलाउन संस्था र आफ्नो अहम भुमिका हुने बताए । वर्तमान अवस्थामा विश्वमा शान्तिको सन्देश प्रवाह गर्न आवश्यक भएको र कोरोना महामारीले ल्याएको संकटका कारण विचलित भएको समाजलाई पुनः सामान्य अवस्थामा फर्काउन पनि आत्मशान्तिको आवश्यकता रहको डा. अधिकारीको भनाइ थियो ।

कार्यक्रम कार्की, अधिकारी सहित दिनेश प्रधान, डा. मणी श्रेष्ठ, पूर्णलक्ष्मी श्रेष्ठ कार्की, कल्पना अधिकारी, विमला दाहाल, सुनिल केसी, गोपाल गुप्ता, मनोज यादव, सुशिला यादव, प्रशान्त कार्की, सोमाया अधिकारी, सुमानी अधिकारी, समाहिका यादव, मलिना कार्की लगायतको उपस्थिति रहेको थियो । बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन यस्ता खाले कार्यक्रमले प्रवासमा विशेष भुमिका निर्वाह गर्ने आयोजक कार्कीको विश्वास छ । आगामी दिनमा पनि शान्तिका अग्रदुत गौतम बुद्धका सन्देश फैलाउन आफुहरु लागिपर्ने कार्यक्रमका सहभागीहरुको भनाई थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’, तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो