पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड बजेट

डिसी नेपाल
१५ जेठ २०७८ १८:५२
40
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै शनिबार अर्थमन्त्री विष्णु पौडेलले पौडेलले नेपाललाई आर्कषक, रमणिय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने बताए ।

उनले नीजि क्षेत्रसँगको सहकार्यमा एकिकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने बताए। यस्तै सन्दकपुर, धुनषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्डेदह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनि गुम्बा र कागबेनीको पिण्डस्थान पुर्ननिर्माण कार्यलाई निरन्तरता दिइने अर्थमन्त्री पौडेलले बताए।

यस्तै दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तथा चुरे र महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, रिसोर्ट लगायत निर्माण गर्न नीजि क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने उनले बताए।

रारा, सेफोक्शुन्डो, खप्तड लगायतका प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकिय गन्तव्यस्थलको रुपमा विकास गर्न बजेटको व्यवस्था गरिएको छ। तल्लो डोल्पा, हुम्लाको सिमिकोट, धादिङको रुवि भ्याली लगायतको क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने, पद यात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा र उद्धारका लागि जिपिएस ट्रयाकिङ सहितको एकिकृत पर्यटन सुचना प्रणाली कार्यान्वयनमा ल्याइने छ ।

आगामी आर्थिक वर्षको बजेटमा साहसिक पर्यटन प्रर्वद्धन गरिने र साहसिक पर्यटनको क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने उल्लेख गरिएको छ। प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २ सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन ५९ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.