गण्डकी प्रदेश : नयाँ सरकार गठन कसरी हुँदैछ ?

सम्भव सिंह ठकुरी
२८ जेठ २०७८ १२:५६

काठमाडौं। बिहीबार भएको गण्डकी प्रदेश अधिवेशनमा मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि विपक्षी गठबन्धनका लागि नयाँ सरकार गठनको बाटो खुलेको छ।

६० प्रदेशसभा सदस्य रहेको उक्त प्रदेशमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। एक स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थिति भएभने जनमोर्चाले कारबाही गरेका अर्का सांसद कृष्ण थापा तटस्थ बसेका थिए।

नयाँ सरकार गठन गर्न आवश्यक मत संख्या भनेको ३१ हो। विपक्षी गठबन्धनका लागि मनाङेको मत निर्णायक देखिन्छ। अहिलेको अवस्थामा गठबन्धनको पक्षमा स्पष्ट बहुमत नदेखिएपनि पृथ्वीसुब्बा गुरुङको सरकारमा रहेका युवा तथा खेलकुद मन्त्रीरहेका मनाङे मतदानमा सहभागी नहुनु र बिहीबार राति नै मन्त्री पदबाट राजीनामा दिनुले गठबन्धनलाई नयाँ सरकार बनाउन सहज बनाएको छ।

संंवैधानिक व्यवस्था अनुसार अब धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको लागि सो प्रदेश प्रमुखले आवहन गर्ने छ। त्यसकारण गठबन्धनबाट मुख्यमन्त्रीका रुपमा प्रस्ताव भएका कृष्णचन्द्र पोख्रेल आफ्नो महुमत भएको आधार देखाएर नयाँ मुख्यमन्त्रीको रुपमा चयन हुन सक्ने व्यवस्था छ। र, त्यसरी गठन भएको सरकारले फेरि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीयदलका नेता हरिबहादुर चुमानका अनुसार आज प्रदेश प्रमुख कहाँ पत्र जाँदै छ। उनले प्रदेश प्रमुखले गठबन्धनको सरकारका लागि उपधारा ५ अनुसार समय आह्वान गरेपछि उक्त समयभित्र नयाँ सरकार बन्ने दावी गरे।

गठबन्धनको सरकार बनाउने विषयमा निर्णायक देखिएका सांसद राजीव गुरुङले पनि हस्ताक्षर गरिसकेको हुनाले प्रदेश प्रमुखले तोकिएको समय भित्रनै नयाँ सरकार आउने चुमानले बताए। यो समीकरण हेर्दा नेपाली कांग्रेसका संसदीयदलका नेता कृष्णचन्द्र पोख्रेलको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बलियो देखिन्छ।

धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा अथावा नयाँ मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभालाई विघटन गरि ६ महिना भित्र प्रदेशसभा निर्वाचन गर्ने गरि निर्वाचन मिति तय गर्ने प्रावधान धारा १६८ उपधारा ७ मा रहेको छ। तर उपधारा ५ को विकल्पमा गठबन्धनको बहुमत पुग्ने देखिएपछि प्रदेशसभा भंग हुने सम्भावना टरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *