कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस

डिसी नेपाल
१२ साउन २०८३ १८:२६

सुर्खेत। केन्द्रमा भएको नेकपा र नेकपा एमालेबीचको सहमति अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुखले दिएको मंगलबार साँझ ५ बजेको समयसीमा अघि एमालेका प्रमुख सचेतक टेकराज पछाईलाई लिएर नेकपाका शाहीले दावी पेस गरेका थिए। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र नेकपा एमालेका १० जना सांसद छन्।

गत असार ३२ गते नेकपा र नेपाली काँग्रेसका १६ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि साउन ९ गते मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामै राजीनामा घोषणा गरेका थिए। नेपाली काँग्रेस र नेकपाको प्रदेश सरकार गठनको प्रयास भए पनि एमाले र नेकपाबीच केन्द्रमा गठबन्धन भएपछि प्रदेशमा गठबन्धन प्रयास विफल भएको छ।

नेपालको संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त भएपछि शाहीले सरकार गठनको दाबी प्रस्तुत गरेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *