राष्ट्रिय महिला आयोगद्वारा बाँकेमा महिला हिंसाबारे अनुगमन

डिसी नेपाल
६ असार २०७८ १८:३६

काठमाडौं। राष्ट्रिय महिला आयोगले बाँकेमा महिला हिंसाका घटनाबारे अनुगमन गरेको छ। आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, भेरी अस्पताल, जिल्ला सिमाना बाँके र माइती नेपाल बाँकेको अनुगमन गरिएको हो।

लकडाउन अवधिमा महिला हिंसाका घटना बढिरहेका तथ्यांक बाहिरिएका कारण राष्ट्रिय महिला आयोगले अनुगमन गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसँगको भेटघाटमा लकडाउन अवधिमा महिला हि‌ंसाका घटना लगायतका विविध बिषयमा छलफल भएको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी समेतको सहभागितामा भएको उक्त छलफलमा स्थानीय निकायसँगको समन्वयमा महिला हिंसाका मुद्दाहरु मिलापत्र अथवा मुद्दाका रुपमा अघि बढाउने गरिएको जानकारी दिइएको थियो।

गत जेठ १३ गते भेरी अस्पतालमा डाक्टर तथा नर्सहरुमाथि कोभिड बिरामीका आफन्तहरुबाट भएको आक्रमणका बिषयमा जेठ १४ गते राष्ट्रिय महिला आयोगमा उजुरी परेको थियो। उजुरीका सम्बन्धमा अस्पतालका डाक्टर, नर्सहरुसँगै आयोगको अनुगमन टोलीले प्रत्यक्ष भेटघाट गरेको छ। उक्त क्रममा विगतमा पनि अस्पतालका कर्मचारीमाथि यस्ता प्रकारका अमानवीय घटना भएका, अस्पताल प्रशासनका कर्मचारीहरुमाथि धाक धम्कीका घटना निरन्तर हुने गरेको जानकारी गराइएको थियो।

सुरक्षित रुपमा काम गर्ने वातावरण नभएकोले आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारका तर्फबाट स्वास्थ्य सेवा प्रदायकहरुको सुरक्षित रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने आयोगले जनाएको छ। यस्ता घटनाका दोषीलाई कडा कानुनी सजायको व्यवस्था गरी समग्र स्वास्थ्यकर्मी महिलाहरुको पेशागत मर्यादा तथा सुरक्षित जीवनको व्यवस्था हुनुपर्ने बिषयमा आयोग प्रतिवद्ध रहेको सदस्य कृष्ण कुमारी खतिवडाले बताइन्।

भारतसँगको रुपेडिया नाका नजिक रहेका कारण सीमा नाकाबाट हुने चेलिबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका सम्बन्धमा माइती नेपालले निभाएको भूमिका तथा आगामी दिनमा नेपाल सरकारप्रतिका अपेक्षा लगायतका विविध बिषयमा माइती नेपालका बाँके जिल्ला प्रमुख केशव कोइरालासँग आयोगको टोलीले छलफल गरेको छ। छलफका क्रममा माइती नेपालले स्थानीय सरकारसँग समन्वय गरी आफ्ना क्रियाकलाप अघि बढाइरहेको जानकारी दिइएको थियो। महिला हिंसा तथा ओसार पसार नियन्त्रणका सम्बन्धमा नीति अनुरुपका संरचना हुनुपर्ने, संघमार्फत आवश्यक कानुन यथासक्य बनाइनु पर्ने, पुनःस्थापना गृह निर्माण उपयुक्त हुने तथा नेपाल सरकारले कूटनीतिक पहलमार्फत बिदेशी मुलुकसँग समन्वय गरेमा नेपालीहरु बिदेशी भूमीमा बेचिने तथा अलपत्र नपर्ने सो अवसरमा सुझाव दिइएको थियो।

जिल्ला प्रहरी कार्यालय अन्तरगतको महिला तथा बालबालिका सेलमा गई गरिएको अनुगमन तथा छलफलका क्रममा त्यस्ता सेलहरुलाई प्रभावकारी रुपमा सेवा प्रवाहका लागि जनशक्ति तथा श्रोत साधन सम्पन्न गर्न सके प्रहरी प्रशासनसँग सम्पर्कमा आएका महिला हिंसाका घटनाको सम्बोधन गर्न तथा सीमा नाकाबाट हुन सक्ने चेलिबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न थप मद्दत मिल्ने निष्कर्ष निकालिएको छ। आयोगको टोलीले जेठ ३१ गते बाँकेमा अनुगमन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *