‘एनआरएन द सिङ्गर’को गरियो उद्घाटन – Dcnepal

‘एनआरएन द सिङ्गर’को गरियो उद्घाटन

काठमाडौं । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को उद्घाटन भव्य रुपमा गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले सो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । संस्कृति तथा सम्पदा उप–समितिका संयोजक गोविन्द प्रसाद गौतमले कार्यक्रम सफल बनाउनका लागि देश विदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरे । उनले प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने बताए ।

प्रि अडिसनपछि नेपाली टेलिभिजनबाट पनि उक्त कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि हुने जनाइएको छ । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इंटा थप्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् । उद्घाटनपछि प्रिअडिसन आइतबारदेखि खुला भइसकेको छ ।

१५ वर्षभन्दा माथि उमेर भएकाहरूले मात्रै भाग लिन पाउने उक्त प्रतियोगितामा प्रथम हुनेले १५ लाख, द्वितीय हुनेले ७ लाख र तृतीय हुनेले चार लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो