एनआरएनए अमेरिकाको साधारणसभामा मञ्चमै हात हालाहाल, पुरानो नक्साको प्रयोग

डिसी नेपाल
२० असार २०७८ ५:३६

न्यूयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको दशौं साधारणसभाको मञ्चमै हातहालाहाल भएको छ।

उद्घाटन समाहारोहको सकिनुअघि निर्वाचित नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गर्ने कि नगर्ने भन्ने विषयमा संघका अध्यक्ष सुनील साह र उपाध्यक्ष बीर आर लामाले फरक फरक उद्घोषण गरेपछि चारैतिरबाट पक्ष र विपक्षमा ठूलो हुल मञ्चमा प्रवेश गरेको थियो।


कार्यक्रम समापनमा सन्दर्भमा उद्घोषक पशुपति पाण्डेले धन्यवाद ज्ञापन गर्न भनी बीरआर लामालाई मञ्चमा बोलाएका थिए। उनले धन्यवाद ज्ञापन गर्दा गर्दै आफैं उद्घोषण गर्दै निर्वाचन समितिका प्रमुख विश्व बराललाई नयां कमिटीलाई शपथ ग्रहण गराउन मञ्चमा बोलाएका थिए।

उनले एकाएक शपथ ग्रहणको कुरा ल्याएपछि निर्वाचन समितिका बराल मञ्चमा पुगे। उनले मञ्चमा शपथ ग्रहण गराउने प्रयास शुरु गर्दा नगर्दै अध्यक्ष सुनील साहले माइक खोसे र अहिले शपथ ग्रहण नहुने उद्घोष गरिदिए।

त्यसपछि पक्ष र विपक्षमा एक्कासि ठूलो हुल मञ्चतिर प्रवेश गरेको थियो। र, मञ्चमै ठेला ठेल भएको थियो। यो क्रम १५ मिनेटभन्दा बढी भएको देखियो। त्यसपछि मञ्चबाटै कसैले सेक्युरिटी सेक्युरिटी भनेर बोलायो। दुई ठूलो ज्यान गरेका विदेशी सेक्युरिटी गार्डहरु मञ्चमा गए र भटाभट ठेल्न थाले।

उनीहरुले मञ्च खाली गर्न चाहे पनि सकेनन्। त्यसपछि सुनील साह र पशुपति पाण्डेलाई लिएर उनीहरु बाहिर गए। त्यसपछि सहभागी महिलाहरु मञ्चमा गई माइक समातेर सबैलाई मञ्च खाली गर्न आग्रह गरे। विस्तारै मानिसहरु मञ्च छोड्न थाले। पुन सेक्युरिटी गार्डहरु मञ्चमा देखिए अनि फेरि शपथ ग्रहण शुरु गर्न विजयीहरुलाई निर्वाचन समितिका बरालले आह्वान गरे।

त्यसपछि हो हल्लाका बीचमा शपथ ग्रहण गरियो । शपथ ग्रहण गरेर पनि लामोसमय हलमा हो हल्ला चलिरहेको थियो। बन्द सत्र नहुंदैको यो दृश्यले एनआरएनए अमेरिकाभित्रको गुटगत विवाद छताछुल्ल भएको छ।

ठेलमठेलको अवस्था आएपछि क्षेत्रीय संयोजक त्रिपाठीले कार्यक्रमको खाका तयार गर्दा नै नेतृत्वले गल्ती गरेको र त्यसको मार साधारणसभाले भोग्नु नपरोस् भन्दै अव विवादमा अल्झिनु उपयुक्त नभएकाले नवनिर्वाचित समितिलाई शपथ ग्रहण गराएर अघि बढ्न  कार्यक्रम आयोजकहरुलाई दवाव दिएका थिए। र मञ्चमा उपस्थित भएर शपथ ग्रहण गर्ने नयां समितिलाई बधाइ दिंदै आईसीसीको तर्फबाट औपचारिकता दिएका थिए।

ज्ञानसिप मातृभूमिका लागि प्रयोग गरौं , राजदूत खतिवडा

संघको साधारणसभाको उद्घाटन गर्दै अमेरिकामा सिकेको ज्ञान, सीप आफ्नो मातृभूमि नेपालको उत्थानका लागि प्रयोग गर्न अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आग्रह गरे।

नेपाल र अमेरिकाबीच आर्थिक र राजनीतिक सम्बन्धमात्र होइन जनता जनताबीच सम्बन्ध छ भन्दै राजदूत खतिवडाले ७० बर्षअघिदेखि अमेरिकाले स्वयंसेवीहरु पठाएर नेपालका गाउँगाउँका जनतलाई विभिन्न काममा सहयोग गरेको उदाहरणका रुपमा लिएर अमेरिकाबासी नेपालीहरुले पनि आफ्नो मातृभूमिका लागि यहाँ सिकेको सीप र ज्ञान प्रयोग गर्न हिच्किचाउन नहुने जिकिर गरेका थिए।

उनले नेपाली मुलुक अमेरिकीहरुले अमेरिकाको निर्वाचनमा ठाउँ ठाउँमा सफलता हासिल गरेको कुराप्रति खुसी व्यक्त गरे र विजयीहरुलाई बधाइसमेत ज्ञापन गरेका थिए । उनले गैरआवासीय नेपालीहरुको विवरण तयार गर्न आह्वान गरे।

उद्घाटन कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्षहरु बद्रि केसी, सोनम लामा, रविना थापा, सचिव गौरी जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदी, उमा कार्की, खगेन्द्र जिसी, मेरिल्याण्ड विधानसभाका डेलिगेट ह्यारी भण्डारी, आनन्द विष्ट, विश्व बराल, यादव पण्डित, कृष्ण लामिछाने, तिलक केसी,प्रभु थापा, टेक गुरुंग,लोक चेम्जोंग, प्रेम श्रेष्ठलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

नेपालको पुरानै नक्साको प्रयोग

कार्यक्रमका सन्दर्भमा नेपालको नक्सा पटक पटक देखाइएको थियो। यसरी देखाइएको नक्सा नेपालको नयाँ नक्सा थिएन। लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नक्सा त्यहाँ प्रस्तुत गरिएको थियो।

पूर्वमन्त्रीसमेत भइसकेका राजदूत खतिवडाको उपस्थितिमा भएको सो कार्यक्रममा नेपालको  आधिकारिक नक्सा नभई पुरानो नक्सा प्रयोग गरिनुले एनआरएनएको साधारणसभामा उपस्थितहरुलाई आश्चर्यमा पारेको थियो।

ओएनएफ अमेरिकाका अध्यक्ष प्रभु थापाले नेपालको नक्साको गलत प्रयोग गर्दा नेपालीहरुको अपमान भएको र त्यो सैह्य नभएको भन्दै मञ्चबाटै विरोध गरेका थिए। मञ्चमा प्रस्तुत भएको गीत र नृत्यका सन्दर्भमा मञ्चमा रहेको स्क्रीनमा नेपालको नक्सा प्रयोग भएको थियो।

मञ्चमै प्रश्न उठेपछि संघका महासचिव पशुपति पाण्डेले पुरानो नक्सा प्रयोग गल्ती भएको बताए । उनले डिजेले दृश्य देखाउंदा गल्ती भएको बताएर उम्किएका थिए ।

च्याप्टर नाइटमा च्याप्टर नै असन्तुष्ट

गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद्(एनआरएन एनसीसी) को दशौं साधारण सभाको पूर्वसन्ध्यामा च्याप्टर नाइट सम्पन्न भएको थियो। न्यूयोर्क च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा एनआरएन अमेरिकाका लागि आफ्नै भवन निर्माण गर्न इच्छुकहरुसंग डोनेशन आह्वान गरिएको थियो।

कार्यक्रममा नवनिर्वाचित एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले २० हजार डलर दिने घोषणा गरेका थिए भने आईसीसीका उपाध्यक्ष सोनाम लामाले ११ हजार डलर, एनसीसीका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले १० हजार, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले ५ हजार, आईसीसी उपाध्यक्ष रविना थापाले ५ हजार रकम दिने घोषणा गरेका थिए।

कार्यक्रम च्याप्टर्स नाइट भनिएपछि अमेरिकाका २९ राज्यका च्याप्टरहरुलाई वास्ता नगरिएको भन्दै सहभागी च्याप्टर अध्यक्षहरुले असन्तुष्टि प्रकट गरे। कार्यक्रम समापन लगत्तै नवनिर्वाचित च्याप्टर अध्यक्षहरुले सोही हलमा भेला गर्दै च्याप्टर्स नाइट भनेर च्याप्टरहरुकै सहभागिताको वेवास्ता गरिएकोमा विरोध प्रकट गरेका थिए।

नवनिर्वाचित च्याप्टर अध्यक्षहरु कोलोराडोका आरसी पन्त, विस्कन्सिनका दीपक थापा, नेब्रास्काका बिमल अधिकारी, मिनिसोटाका विवेक झाले डिसी नेपालसँग कुरा गर्दै संस्थाका मेरुदण्ड भन्दै च्याप्टरहरुलाई बेवास्ता गरिएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *