विश्वको १४ वटै अग्ला हिमाल चुम्ने अभियानमा माया शेर्पा

फुर्पा शेर्पा
२३ असार २०७८ ९:४२

काठमाडौं। धौलागिरि हिमाल चढ्न उनी काठमाडौँबाट धौलागिरि बेस क्याम्पतिर लागेकी थिइन्। यसपटक उनलाई त्यति सहज थिएन। किनभने देशभर कोभिड–१९ को दोस्रो लहर फैलिइसकेको थियो। उनको समूहमा सात जना थिए। उनलाई लागेको थियो–सपना पूरा गर्ने चाहना मर्न दिनु हुँदैन।

उनी हुन, माया शेर्पा नेपाल पर्वतारोहण संघ (एनएमए) को द्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघको अध्यक्ष। उनको जन्म ओखलढुङ्गाको पात्ले– ५, रिपालमा ४३ वर्ष अघि भएको हो। विश्वमा ८ हजार मिटर माथिका १४ वटा अग्ला हिमाल छन्।

आरोही शेर्पा ती १४ वटै हिमाल आरोहण गर्ने अभियानमा लागेकी छन्। उनले यस अघि विश्वका ६ वटा अग्ला हिमाल सगरमाथा (८,८४८.८६ मि), केटु ( ८,६११ मि), कंचनजंगा(८५८६ मि) मनासलु (८,१५६मि), चो ओयु (८२०१), अन्नपुर्ण (८०९१ मि) भने आरोहण गरिसकेकी छन्।

उनको समूहले पछिल्लो समय हिमाल चढेको स्मरणलाई लिएर उनीसँग गरिएको कुराकानीमा उनले भनिन्, ‘हामी अन्नपूर्ण हिमाल आरोहण गर्न जाँदा दोस्रो लहरको कोरोना आउँला भन्ने थाहा थिएन्। आरोहण सकेपछि मात्र काठमाडौंमा कोरोनाको दोस्रो लहर फैलिएको खबर पाएँ।’

उनले अगाडि भनिन्, ‘निषेधाज्ञा लागू भएको धौलागिरि बेस क्याम पुगेपछि मात्र थाहा पायौं। अन्नपूर्णको सफलतापूर्वक आरोहण पश्चात पोखरा आएलगत्तै हप्ता दिनपछि धौलागिरि बेस क्याम्प हामी पुगेका हौं।’

धौलागिरि बेस क्याम्प पुगेपछि भने उनको टिमलाई ज्वरो आउने, वाकवाक लाग्ने, खान नरुच्ने जस्ता लक्षण देखा परेछ। उनले भनिन्, ‘मानिसहरु धमाधम बिरामी हुन थालेपछि बेस क्याम्पमा कोरोना फैलिएछ भन्ने महसुस भयो। मलाई पनि हप्ता दिन पछि क्याम्प–१ जान गाह्रो हुन थाल्यो। त्यसपछि काठमाडौं आएर परीक्षण गर्दा कोरोना संक्रमण देखियो।’

कोरोना संक्रमणका कारण रोकिएको आरोहणबारे जिज्ञासा राख्दा उनले भनिन्, ‘धौलागिरि फेरि चढ्ने प्रयास गर्ने छौं। १४ वटा हिमालहरु चढ्ने मेरो योजना छ, अहिलेसम्म जम्मा ६ वटा हिमालहरु चढेसके अब अरु पनि चढ्ने हो।’

अहिलेसम्म महिलामा नेपालमा धेरै हिमाल चढ्ने र ८ हजार मिटर माथिको हिमाल चढ्नेमा उनी पर्छिन्। उनी भन्छिन्, ‘हिमाल भन्ने वित्तिकै हामी ८ हजार भन्दा माथिको मात्र सोच्छौं। तर हाम्रो देशमा ६ देखि ७ हजारको हिमालहरु पनि थुप्रै छन्। ८ हजार मिटरभन्दा अग्ला हिमालसहित कैयौँ हिमालहरुको आरोहण गर्ने एक सहासिक महिला हुन्, माया शेर्पा।

उनको पर्यटन यात्रा

सन् २००१ देखि ट्रेकिङ गाइड पेशाबाट पर्यटन क्षेत्रमा पाइला टेकिन्। हिमाल आरोहण सन् २००३ देखि सुरु गरेकी हुन्। त्यही समयमा उनको विवाह भयो।

पारिवारिक चाजोपाजो सबै व्यवस्थापन गर्दै अगाडि बढ्न कम चुनौती थिएन उनलाई। निरन्तर आरोहण लागेकी उनी भन्छिन् ‘कतिन्जेलसम्म सकिन्छ हेर्दै जाऔँ, तर शरीर र स्वस्थले साथ दिइन्जेल आरोहणमा निरन्तर लाग्नेछु।’

समाजमा माहिलाले पनि गर्न सक्छ भन्ने उदाहरण दिन यस क्षेत्रमा निरन्तर लागेको उनले बताइन्। नेपाली समाज तथा घरपरिवारले महिलालाई हिमाल आरोहणमा जान सजिलै अनुमति दिँदैन, कारण यो कार्य जोखिपूर्ण र खतरा हुन्छ।

बच्चा जन्मिएपछि र उमेर ढल्किँदै जाँदा शारीरिक रुपमा कमजोर भइन्छ भन्ने विश्वास पनि छ। तर, उनी भविष्यप्रति आशावादी हुँदै भन्छिन्, ‘महिला माझ एक असल उदाहरण बन्ने कोशिस गरिरेहेकी छु। जसले गर्दा भोलिका दिनमा धेरै नेपाली महिला आरोहीहरु जन्मिने छन्।’

महिला आरोहणलाई हेर्ने समाजको दृष्टिकोण पहिला बेग्लै थियो। उनी भन्छिन्, ‘त्यो बेला त गाह्रो थियो। अहिले त वरीपरिको मान्छेहरुले घर बाहिर निस्किँदा र मलाई देख्दा उनीहरुलाई पनि आँट आएको सुनाउँदा खुसी र गर्वको महसुस हुन्छ।’

परिवारको समेत साथ र सहयोग पाएकी उनलाई आजभोलि देख्ने जो कोही ‘वाउ’ भनेर प्रसंसा गरेको सुनाउछिन्। बच्चा जन्माउनु अघि धेरै नै आँट, हिम्मत र निडर भएको तर अहिले आमा भइसकेपछि भने धेरै जोखिमहरु लिन मन नलाग्ने उनी बताउँछिन्।

बच्चाहरुलाई सम्झेर पनि आँट भएपनि जोखिम मोल्न हत्तपत्त मन नलाग्ने गरेको बताउँदै उनी भन्छिन्, ‘बच्चालाई सम्झेर आरोहणमा जोखिम मोल्न मन लाग्दैन्। मनमनै सोचिराखेकी हुन्छु छोरी घरमा कुरिरहेकी होलिन, मैले सुरक्षित घर फकिनु पर्छ।’
आरोहणको यात्रा

सुरुका दिनहरुमा आरोही मायाले ट्रेकिङ गाइड र आरोहिसँग समन्वय गर्ने काम गर्थिन्। उनीहरुसँग बेस क्यामसम्म जाने–आउने गर्थिन्। त्यो समयमा पुरुषहरु मात्र आरोहण गर्थे भने उनीहरुको श्रीमतीहरु त्यतिकै घर फर्किन्थे। उनले एभरेष्ट, मनास्लु, चो ओयू बेसक्याम्प पुगेर तालिम लिइन्।

त्यसपछि सन २००३ मा उनले पहिलो पल्ट हिमाल चढ्ने अवसर पाइन्। नयाँ नौलो काम पायो भने प्रयास गरिहाल्ने उनको बानीले गर्दा त्यस अवसरलाई खेर नफाली प्रयासको रुपमा लिइन्। उनी सम्झना गर्दै भन्छिन्, ‘त्यसबेलासम्म हिमाल चढ्छु, नाम कमाउछु, एभेरष्ट नै चढ्छु भन्ने सोचेकी पनि थिएन।’

पहिला ट्रेकिङ गर्दै जाँदा र राम्राराम्रा हिमालहरु देख्दा पर्यटकले नेपाली आरोही महिलाहरु कति छन्, हिमाल चढ्ने गरेको छ कि छैन्?, भनेर सोध्ने गरेको उनले बताइन्। उनका अनुसार पहिलापहिला महिलाहरुले त्यति हिमाल चढ्दैन थिए।

सोही क्रममा उनका सिनियर लिडरले उनलाई आरोहणको लागि हौसला र अवसर दिएको सम्झना गर्दै उनले मुस्कुराउँदै सुनाइन्, ‘हिमाल चढ्न थालेपछि हिमाल चढ्ने लत बस्दो रहेछ। धूम्रपान र मादक पदार्थको लत लागे जस्तै।’

उनका अनुसार हिमाल चढ्ने काम खतरा र गाह्रो हुन्छ। चिसोमा सुत्नु पर्छ, हिउँमा हिड्नु पर्छ, कहिले अनुहार घामले ढड्छ त कहिले पाखुरा। पहिरोमा ज्यान गुम्न पनि सक्छ। उनले भनिन्, ‘यी सबै थाहा हुँदाहुँदै पनि हामी आरोहीहरुले हिमाल चढ्न छाड्दैनौं। आरोहीहरुलाई हिमाल चढ्न मन लागिरहन्छ।’

जीवनमा पहिलो चोटी हिमाल चढ्न सफल भएपछि आत्मा विश्वास बढेको बताउँदै उनले भनिन्, ‘मैले प्रयास गरे र सफल भएपछि विश्वास पनि बढ्दै गयो। दोस्रो पटक पुमोरी हिमाल चढेँ। त्यो हिमाल पनि त्यसबेला कुनै पनि नेपाली महिलाहरुले चढे्का थिएनन्। त्यसपछि माउन्ट चोयु अक्सिजन बिनै चढ्न सफल भएँ।’

उनले सुनाइन्, ‘पहिलो पटक बिना अक्सिजन पिक चढेपछि मलाई झन् आत्मविश्वस बढ्यो। मैले गर्न सक्ने रहेछु भन्ने आँट आउँदो रहेछ। यसरी एकपछि आर्को सफल आरोहण गर्दै जाँदा आरोहण क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गयो। केही गर्नु पर्छ भन्ने विचार आयो, त्यसपछि भने म निरन्तर आरोहणमा लागिरहेँ।’

हिमाल आरोहणमा आरोह–अवरोह

हालसम्म चढेको ६ वटा हिमाल मध्ये माउन्ट केटु हिमाल (८६११ मिटर) अप्ठ्यारो भएको उनले बताइन्। पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो यो हिमाल विश्वमै आरोहणको लागि जोखिपूर्ण पनि मानिन्छ।

विशेषगरी अनुभवी शेर्पाको अभाव, सपोर्ट, स्थिर डोरी र स्पष्ट मार्ग नहुनुको साथै अप्रत्यासित मौसम र हिउँ पहिरो यो हिमालको विशेषता हो। प्रविधिक रुपले पनि आरोहण रुट ठाडो उकालो छ। धेरै चट्टानको भाग रहेको हिमाल बारम्बार ढुङ्गा र हिउँ पग्लने, खस्ने डर हुन्छ। साथै हिउँ र बरफको भाग पनि अत्याधिक छ।

उनी केटु हिमाल चढ्दा नेपाली महिलाहरु टप १६ मा परेका थिए। त्यस बेला केटुले ६०औं वार्षिकोत्सव मनाइरहेको थियो। सन् २०१४ मा केटुमा महिलाहरुको सफल आरोहणपछि अरु धेरै महिलाहरुलाई चढ्न हौसला प्रदान भएको छ। हाल नेपाली मात्रै नभएर विदेशीहरु महिलाहरु पनि प्रेरित भएका छन्।

अन्नपूर्ण पनि खतरनाक हिमाल

अप्रिल २०२१ मा अन्नपूर्णले ७१औँ वार्षिकोत्सव मनाएको थियो। आरोहणको ७१ वर्षमा जम्मा १२ जना अन्तर्राष्ट्रिय र राष्ट्रिय महिलाहरुले आरोहण गरेका छन्। जसमा विदेशी ६ र नेपाली ६ जना महिला रहेका छन्। मायाको टोली चढेपछि उनीहरु पहिलो नेपाली महिला बनेका थिए। त्यसबेला चीन र अष्ट्रेलियाको महिला नागरीकसहित उनीहरुले सफलतापूर्वक आरोहण गरेका थिए।

उनले अन्नपूर्ण आरोहणबारे भनिन्, ‘एकै वर्षमै १२ जना महिलाले सफल आरोहण गरेकोमा हामी अत्यन्तै हर्षित भयौं। ७१ वर्षको रेकर्ड एक वर्षमै तोड्यो, हालसम्म १२ जनासहित कूल २४ जना महिलाहरुले अन्नपूर्ण आरोहण गरिसकेका छन्।’

१८ वर्षको हिमाल अनुभव

मायाले पहिलोपल्ट सन २००३ मा आमाडाब्लम हिमाल आरोहण गरिन्। त्यसबेला हिमाल चढ्न राम्रा आरोहण उपकरणहरु थिएनन्। त्यसबेला धेरै सामानहरु दाइभाइहरुले बन्दोबस्त गरिदिएकाले केही भने विदेशी आराहीबाट मागेर गुजारा चलाएको उनले सुनाइन्। र, ज्याकेट भने आमाको लगाएको बताइन्।

उनको पहिलो हिमाल चढेको अनुभव नमिठो र गाह्रो थियो। त्यसबेला राम्रो उपकरणहरु नभएर धेरै दुःख पाएको नमिठो अनुभव छ उनमा।
गतिलो पञ्जा नभएका कारण उनका हातहरु हिउँले खाएको थियो। धेरै चोटी हिउँमा चिप्लेर लडेको सम्झना गरिन्, उनले। उनका अनुसार अहिले क्लाइम्विङ इक्विपमेन्टहरु धेरै विकासित भइसक्यो र कम्पनीहरुले पनि धेरै गुणस्तरीय सामानहरु उत्पादन गरेका छन्।

विवाहपछिको आरोहण

स्वतन्त्रपूर्वक जिउने र जिवनमा केही नयाँ गर्न चाहने मायाको स्वभाव छ। विवाहको कुरालाई लिएर उनले भनिन्, ‘पहिला आरोहणमा लागेकी छोरीले कतै केटा नपाउँला कि भन्ने डर थियो। तर, पछिल्लो समय हाम्रो समाजमा माहिलाको उमेर २३–२४ कटेपछि विवाह गर्नुपर्छ भन्ने सोच पलाएको छ।’

उनले थपिन्, ‘२–३ ओटा हिमाल चढेपछि आफन्तबाट विवाहको कुरा चल्यो। मैले जीवनसाथी यस्तो पुरुष होस् जसले मेरो स्वतन्त्रताको कदर गरोस् र सपना पूरा गर्न पूर्ण साथ देओस् भन्ने सोचेको थिए नभन्दै आफूलाई बुझ्ने मान्छे र समझदार श्रीमान् पाए।’

उनले आरोहणकै क्रममा श्रीमान् भेटेकी हुन्। भेट भएको २ वर्षपछि सन् २००६ मा विवाह बन्धनमा बाँधिएको उनले सुनाइन्। उनका श्रीमान आरोही र विदशी नागरिक हुन्। विवाहपश्चात उनले श्रीमानको भरपुर साथ र सहयोग पाइराखेको सुनाइन्।

त्यसपछि उनी श्रीमानसँगै सन् २००७ मा एभेरष्टलगायत अन्य हिमालहरु चढिन्। विवाहपछि श्रीमान्सँगै ५ वर्षसम्म हिमालहरु चढेको र त्यसपछि भने विभिन्न देश विदेश घुम्नेको स्मरण उनले सुनाइन्।

सानो गाउँमा जन्मे हुर्केको भएपनि सपना चाहिँ ठूलो भएकोले पहिलादेखिनै नेपालका विभिन्न ठाउँहरु र विदेश घुम्ने उनको रुची थियो, जुन पूरा हुँदै गएको उनले सुनाइन्। उनले भनिन्, ‘ट्रेकिङ गर्ने क्रममा आधा नेपाल घुमिसकेको र विवाहपछि विदेश घुम्ने रहर पनि पूरा भयो।’

आरोहणमा कम्ब्याक

उनी गर्भवती भएपछि पाँच वर्षसम्म उनले घरमै बसेर बिताइन्। सन २०१० मा आमा बनेकी उनले त्यसबेलाको अनुभव सुनाउँदै भनिन्, ‘बाहिर हिँडिरहने मान्छेलाई घरमै बस्दा दिन काट्न निकै गाह्रो हुने रहेछ। आमा भएपछि मानसिकता पनि परिवर्तन हुने रहेछ। आफ्नो बच्चा छोडेर बाहिर हिड्न गाह्रो र नसकिने रहेछ। त्यसबेला आरोहण क्षेत्रबाट पलायन हुने सोच पनि नआएको हैन।’

त्यसबेला लामो समय घर बसेकाले पुनः हिमालमा फर्किन्छु कि फर्किन्न भन्नेमा आशंका लागेको बताउँदै उनले भनिन्, ‘बच्चा पनि भयो, धेरै लामो समय घरमा बसिइयो, त्यसले गर्दा अरुले पनि अब हिमाल चढ्न सक्दैन भनेको सुन्दा नरमाइलो लाग्ने गथ्र्यो। तर मेरो सक्दैन भन्ने कुरामा झन् डटेर लाग्ने स्वाभाव भएकाले एकदिन फेरि आरोहणमा फर्किने छु भन्ने अठोट गरे।’

त्यसपछि संकल्पका साथ प्रयास गरिन्, संसारकै सबैभन्दा कठिन मानिने माउण्ट केटु चढ्ने सोच र सफल पनि भइन्। उनी तालिम नै नलिइकनै केटु हिमाल चढ्न गएको उनले बताइन्। त्यो समयमा केटु चढ्दा उनलाई निकै गाह्रो भएको बताइन्। सन २०१४ मा विश्वको दोस्रो अग्लो माउन्ट केटु (८६११ मिटर) चढेर आरोहणमा सानदार कम्ब्याक उनले गरिन्।

हुनत उनको सन् २००८ र २००९ भित्रमै १४ ओटा पिकहरु ओरोहण गरिसक्ने योजना थियो। तर २०१० मा मकालु जाने बेलामा गर्भवती भएपछि उनको योजनामा ब्रेक लागेको थियो।

बाल्यकालको रुची

शेर्पाको छोरी भएकोमा गर्व लागेपनि सानो छँदा हिमाल चढ्ने सोच भने उनमा पलाएन। खेलकुदमा भने उनलाई सानैदेखि रुचि थियो। तर खेलकुदलाई अंगाल्न नसकेकी उनले भनिन्, ‘मलाई मनपर्ने खेल मार्शल आर्टस् हो। रंगशालाको ढोकामा पुगेर अन्य खेलाडीले तालिम लिएको घण्टौसम्म हेर्थे। तालिमको फि तिर्ने पैसा हुन्थेन। आर्थिक अभावले खेलकुदमा लाग्न सकिन।’

तर बच्चादेखिनै आफू र देशको लागि केहि गर्नै पर्छ भन्ने सोच भने उनलाई थियो। उनले भनिन्, ‘जन्मनु र मर्नु प्राकृतिक नियम हो। जीवनमा केही गर्नुपर्छ भन्ने सधै हुन्थ्यो, विषेशगरी महिला परिवर्तनको लागि केही न केही गर्नुपर्छ भन्ने नै लागिरहन्थ्यो।’

आरोहणमा महिलालाई महिनावारीको चुनौती

आरोहणको बेला महिलालाई सबैभन्दा चुनौती भनेको महिनावारी हो। उनले भनिन्, ‘दिन गन्नु पर्छ, फेरि कहिले हुन्छ भनेर। बेस क्याम्पमा भए ढुक्क हुन्छ, तर समिट गर्ने बेला भयो चाहीँ हामीलाई एक्दमै गाह्रो हुन्छ।’

उनी भन्छिन्, ‘हाम्रो समाजले आउटडोर काममा महिलालाई त्यती प्रोत्साहन गर्दैन। अझै विवाह भएपछि परिवार र बालबच्चा हेर्नुपर्ने जिम्मा भएकोले निकै चुनौती हुन्छ।’ तर अहिले समाज फेरिँदैछ, महिलाहरु पनि सहासिक क्षेत्रमा अगाडि बढिरहेका छन, देश विदेशमा नाम कमाउन सफल भएका छन्।’

सरकारसँग आग्रह

उनी सरकारले महिला आरोहीहरुको महत्व बुझ्नुपर्ने र उनीहरुलाई सम्मान गर्नुपर्ने भन्छिन्। आरोहण क्षेत्रमा लागेर उदाहरणीय काम गरेका महिलालाई पे्ररित गर्ने र नेपाललाई विश्व सामु चिनाउने प्रयासरत रहेका महिलामा हौसला प्रदान गर्नुपर्ने उनको धारणा छ।

सरकारप्रति चित्त दुखाई छ उनको। उनी भन्छिन्, ‘आरोहीहरुले धेरै दुःख कष्ट गरेर गाइड गर्छन्, हिमाल आरोहण गर्छन्। शेर्पा बिना कुनै पनि आरोहण सम्भव छैन्, हिमालमा उनीहरुले एकदमै कडा मिहेनत गर्छन्। त्यही हिमालहरु बाट सरकारले पैसा कमाउँछ, तर अहिलेसम्म आरोहीको हक अधिकारको लागि सरकार मौन छ। हामी आरोहीलाई बीमा, पेन्सनलगायत अन्य सेवा सुविधा बारेमा केही पनि व्यवस्था गरेको छैन।’

उनी थप्छिन्, ‘आरोहिहरुको हिमालमा मृत्यु भए, उनीहरुको परिवार बिच्चलीमा पर्छ। बल हुन्जेल गर्ने पेशाप्रति सरकारले विशेष कार्यक्रम ल्याउन पर्छ। उचित बिमा, बच्चा बच्चिलाई शिक्षा, स्वस्थ्य सुविधा र ५० कटेपछि वैकल्पिक रोजगार जस्ता प्याकेज ल्याउनु पर्छ। उनीहरुको जीवन निर्वाहको लागि सरकारले अवकास प्रणाली तथा बिमाको व्यवस्था ल्याइदिए आरोहिको भविष्य सुनिश्चित हुन थियो।’

उनले सरकारसमक्ष धेरै पटक ओराहीहरुको गुनासोको सुनुवाई गरिदिन आग्रह गरेको बताइन्। सरकारले केही प्रतिशत विधवा पेन्सन, छोराछोरीको शिक्षादिक्षा र स्वस्थ्यमा आरोहिको परिवारलाई सहयोग गरिदिए ठूला राहत हुने उनको भनाइ थियो।

त्यस्तै, उनी विदेशीले नेपालभन्दा पनि हिमालको नामले देशलाई चिन्ने गरेको अनुभव सुनाउँदै भन्छिन्, ‘नेपाल हिमालको देश भनेर चिनिन्छ, विदेशीले नेपाल देशको नामले चिन्ने कमै छन्। माउन्ट एभरेष्ट र गौतम बुद्ध भनेर चिनिन्छ।’

ओखलढुंगाको दुर्गम गाउँमा जन्मेकी माया शेर्पा नेपाली समाजमा एक उदाहरणीय सहासिक नारी हुन्। विभिन्न हिमाल चढेर समाजमा अन्य महिलाहरुको लागि प्रेरणाको श्रोत बनेकी छन्। महिला पनि सक्षम छन् भन्ने उदाहरण पेश गर्दै आरोह अवरोह पार गर्दै विश्वको ८ हजार माथिको १४ हिमाल चढ्ने अभियानमा लागेकी उनले हालसम्म ६ वटा हिमाल आरोहण गरिसकेकी छन्।

उनको महान अभियानमा सफलता मिलोस् र अन्य नेपाली महिलाहरुलाई सहास, हिम्मत जगाइरहने यात्रा अगाडि बढोस् हिमालकी साहसिक नारी मायालाई धेरै धेरै शुभकामना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *