इटालीमा एनआरएनएको उम्मेदवार बन्न चर्को शुल्क

डिसी नेपाल
२ साउन २०७८ १६:५२

रोम। गैर आवासीय नेपाली संघ इटालीको सातौं अधिवेशन जुलाई २५ मा इटालीको पार्मा सहरमा हुँदैछ। संघले शनिवार संघमा उम्मेदवारी दिन इच्छुक इटालीबासी नेपालीहरुलाई उम्मेदवार हुने पदका लागि लाग्ने शुल्कसहितको सूचना जारी गरेको छ। संघले आफ्नो फेसबुकमा एउटा सूचना जारि गरेको हो।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटाली निर्वाचन संयोजक मनोज कुमार कार्कीद्वारा हस्ताक्षरित सो सूचनामा तोकिएको शुल्क इटालीमा सामान्य तलब खाने नेपालीहरुका लागि संस्थामा उम्मेदवारी दिन नपाउने जस्तै हो।

इटालीमा करिब १५ सयको हाराहारीमा नेपालीहरु बस्दै आएका छन्। समान्यतया नेपालीहरुको मासिक तलब १२ सय युरो देखि १४ सय युरोको हाराहारीमा हुने गर्दछ। घरको भाडा महँगो हुने ,ग्यास, बिजुली, इन्टरनेट र सार्वजनिक यातायातमै हुने खर्चकै कारण नेपालीहरुले महिनामा कम बचत गर्ने गर्छन्। यो सबैमा लागु नहुने भए पनि सामान्यतया धेरै नेपालीहरुको अवस्था यहि नै रहेको छ।

गैर आवासीय नेपाली संघ इटालीको सातौं अधिवेशनका लागि तोकिएको शुल्कले इटालीमा बसोबास गर्दै आएका नेपालीहरुलाई संस्थामा जोडिने चाहाने नयाँ सदस्यहरुको बाटो बन्द गरेको छ। जसले गर्दा समितिमा नयाँ सदस्य भन्दा पनि पुरानै सदस्यहरु नै दोहोरिने प्रकिया जारी रहेको छ।

इटालीका नेपाली बिधार्थीहरु पनि छन् तर अधिवेशनका लागि तोकिएको चर्को शुल्कले संस्थामा जोडिन बिधार्थीहरुको पनि बाटो बन्द गराएको छ।

सूचना अनुसार आइसीसी सदस्यका लागि तोकिएको सुल्क १ हजार यूरो छ, जुन नेपाली रुपैयाँ लगभग एक लाख ४१ हजार हुन आउँछ।

यस्तै अध्यक्ष पदका लागि ८ सय यूरो छ, जुन नेपाली लगभग एक लाख १३ हजार हो। उपाध्यक्ष पदका लागि ६ सय यूरो (लगभग ८४ हजार ६ सय रुपैयाँ) तोकिएको छ।

महासचिब पदका लागि ५ सय युरो (लगभग ७० हजार ५ सय रुपैयाँ), सचिव पदका लागि ३ सय युरो (लगभग ४२ हजार ३ सय रुपैयाँ), कोषाध्यक्ष पदका लागि ३ सय युरो (लगभग ४२ हजार ३ सय रुपैयाँ), युवा प्रतिनिधि पदका लागि २ सय युरो (लगभग २८ हजार २ सय रुपैयाँ), महिला प्रतिनिधि पदका लागि २ सय युरो (लगभग २८ हजार २ सय रुपैयाँ), र कार्य समिति सदस्य पदका लागि १ सय ५० युरो (लगभग २१ हजार १ सय ५० रुपैयाँ) शुल्क तोकिएको छ।

अधिवेशनमा उल्लेखित पदहरुको संख्याभन्दा बढीको उम्मदवारी परेमा निर्वाचन हुने सूचनामा उल्लेख छ।

सामान्य पद संख्याका लागि निर्वाचन भएमा सदस्यता सुल्क बाट मात्रै ५ हजार ५ सय ५० युरो उठ्नेछ जुन नेपाली लगभग ७ लाख ८३ हजार रुपैयाँ हुन आउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *