उमेश श्रेष्ठलाई मन्त्री बनाएपछि देउवा निकटका महामन्त्री खड्काद्वारा विरोध

डिसी नेपाल
११ साउन २०७८ १९:४७

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि उत्पन्न भएको विवाद झन बढ्ने देखिएको छ। आइतबार श्रेष्ठले शपथ ग्रहण गरेपछि देउवा सरकारको तिब्र आलोचना भएको थियो। सो आलोचना सोमबार पनि जारी रहेकै बेला पार्टी सभापति तथा प्रधानमन्त्री देउवाका विश्वास पात्र मानिएका पार्टी महामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नियुक्तिप्रति विरोध जनाएका छन्।

खड्का सरकारलाई सहयोग गर्न सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलका संयोजकसमेत हुन्। उनले संघीय सरकार र गण्डकी सरकारमा मन्त्री नियुक्त गर्दा गल्ति भएको भन्दै सो गल्ति सच्याउनुपर्नेसमेत बताएका छन्।

सोमबार साँझ फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले भनेका छन्, ‘भट्टराई आश्रम बाँडे गाउँ ललितपुर २०७८ श्रावण ११ः गण्डकी प्रदेश सरकार र संघीय सरकारको बिस्तारमा पार्टी भित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा समयमै पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एबं आम नागरिकप्रतिको कर्तब्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भबिश्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने बिश्वासिलो संकल्प समय छदै गर्न जरुरि छ। हामीबीचबाट जस जसको कारणले यो कमजोरी भएको भए पनि काँग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग म क्षमा याचना गर्दछु।’

खड्का सभापति देउवाले मनोनित गरेका महामन्त्री हुन्। देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धन दलहरुबीच हुने हरेक छलफलमा उनी देउवासँगै हुने गर्छन्। तर, मन्त्री बनाउने विषयमा भने उनलाईसमेत जानकारी नभएको पुष्टि भएको छ।

गण्डकी प्रदेशमा शपथ ग्रहणका लागि तयार रहन भनिए पनि दोबाटे विकलाई मन्त्री नबनाई बिन्दुकुमार थापालाई मन्त्री बनाइएपछि देउवाको आलोचना हुँदै आएको छ। यता पार्टीमा भन्दा पनि पार्टी सभापतिसँग राम्रो सम्बन्ध बनाएका निजी विद्यालय तथा अस्पताल सञ्चालकसमेत रहेका उमेश श्रेष्ठलाई कोरोनाको यो महामारीका समयमा स्वास्थ्य राज्यमन्त्री बनाइपछि देउवाको तिब्र आलोचना भइरहेको छ।

महामन्त्री खड्काले विरोध जनाउँदा यसले देउवालाई असहज हुने देखिएको छ। यो विरोधले पार्टीको आसन्न महाधिवेशनमासमेत प्रभाव पार्ने देखिएको छ। खड्का देउवाका सबैभन्दा भरपर्दो नेता मानिन्छन्। तर, उनी नै मन्त्री बनाउने विषयले देउवासँग टाढिने संकेत देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *