कांग्रेस क्रियाशील सदस्यतामा विवाद मिलेन, आज प्रतिवेदन बुझाइँदै

सम्भव सिंह ठकुरी
१२ साउन २०७८ ७:५१

काठमाडौं। असार चार गते बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले साउन १२ बाट वडा अधिवेशन, १६ गते पालिका २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशनको कार्यतालिका सार्वजानिक गरेको थियो।

त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन साउन २६ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन र भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने मिति सार्वजानिक भएपनि आजबाट हुने वडा अधिवेशन स्थगित भएको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन सार्ने निर्णय गरेको थियो।

कांग्रेस अधिवेशनको बेला सबैभन्दा पेचिलो र महत्वपूर्ण बन्ने क्रियाशील विवाद यो अधिवेशन पनि अछुत बन्न सकेको छैन। नेता रमेश लेखकको संयोजकत्वमा बनेको क्रियाशील छानबिन समितिले असारको मसान्त भित्र सबै विवाद समाधान गर्ने लक्ष्य लिएपनि समितिले टुङ्गो लगाउन सकेन।

भदौमा अधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता बोकेको नेपाली कांग्रेसको वडा अधिवेशन नै स्थगित हुनुले निर्धारण गरिएको मितिमा अधिवेशन हुनेमा आशंका पैदा भएको नेताहरु नै बताउन थालेका छन्।

कांग्रेससँग समायोजन भएर आएका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनीलबहादुर थापालाई दिएको क्रियाशील सदस्यता संख्या मनपरी भएको भन्दै संस्थापनइतर पक्षका नेताहरुले असन्तुष्टी जनाएका छन्। पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यताकै विषयमा धनुषा, बारा र सर्लाहीका नेता कार्यकर्ता धर्ना र आमरण अनशनसमेत बसेका छन्।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्मतमाथि प्रहार भएको बताइसेका छन्।

सर्लाही ४ बाट निर्वाचित सांसद डा.अमरेश कुमार सिंहले गत बुधबार क्रियाशील विवादलाई लिएर सभापति देउवालाई भेटेर राजीनामा पत्र बुझाएका छन्।

समायोजनको नाममा क्रियाशील सदस्यता जताभावि दिइएको भन्दै उनले राजीनामा दिएका थिए। अधिवेशनको मुखमा क्रियाशील विवाद निकै पेचिलो बनेको छ। छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले हालसम्म छानबिन भएका सबै प्रतिवेदन आज सभापति देउवालाई बुझाउनले जानकारी दिए।

‘हाम्रो तहबाट आजसम्म भएका जे जति टुङ्गो लागेका छन्, त्यो सबै प्रतिवेदन सभापतिलाई बुझाइने छ। निर्णय गर्ने विषय गरिसकेका छौं। स्थगित गर्ने स्थगित गरिसकेका छौँ। अब अधिवेशन कसरी गर्ने ? भन्ने कुरा अब बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने छ। क्रियाशील विवाद्का कारण वडा अधिवेशन तोकिएको मितिमा हुनसकेन सम्भवतःसाउनको मसान्त तिर नयाँ मिति तय हुने छ। तर अब क्रियाशील विवाद्का कारण केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित हुँदैन’, पौडेलले भने।

सप्तरी, बारा, पर्सा, धनुषा लगाएत जिल्लाहरु सहित ६ हजार ७ सय ४३ मध्ये करिव १०० को हारहारीको वडाहरु स्थगित भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *