कच्ची सडकमा सिकारु चालकको मनोमानी, दुर्घटना बढ्दाे

डिसी नेपाल
१७ साउन २०७८ ७:१७

जाजरकोट । कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा दुर्घटना हुने क्रम बढेको छ। भर्खरै ट्र्याक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी चलाउँदा दुर्घटना हुने क्रम बढेको हो। दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकमा दुर्घटना बढेको पाइएको छ।

ट्राफिक प्रहरीको नजर नपुग्ने ठाउँमा धेरै यात्रु राखेर तोकिएको दरभन्द बढी रकम असुल्दै सिकारु चालकको बदमासी गाउँतिर सरेको हो। गाउँका सर्वसाधारणलाई चालकसँग चालक अनुमतिपत्र भए/नभएकोबारे जानकारी नहुने हुँदा दुर्घटना हुने क्रम बढेको छ। नियमित मर्मतसम्भार नगरेको, बत्ती नभएका, गियर नलाग्ने यातायातका साधन धकेलेर सञ्चालन गर्दै यात्रु ओसारपसार गर्दा थप दुर्घटना बढेको हो। असारको पहिलो साता मोटरसाइकल दुर्घटना हुँदा बारेकोट गाउँपालिका–५ की कृष्णकुमारी शाहीको मृत्यु भयो। उनलाई मोटरसाइकलमा राख्ने चालक राजेन्द्रविक्रम शाही घाइते छन् तर उनीसँग चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ।

त्यसको साता दिनअघि बारेकोट गाउँपालिका–८ लैखममा जिप दुर्घटना भयो। सो जिप चालकको समेत सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ। त्यहाँ एक जनाको मृत्यु भयो भने चार घाइते भए। तीन हप्ताअघि बारेकोटकै सक्लामा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भयो। उनको पनि सवारीचालक अनुमतिपत्र नभएको पाइएको थियो। गाउँमा सञ्चालनमा रहेका अधिकांश सवारी चलाउने चालकसँग चालक अनुमतिपत्र नभएको पाइएको छ। चालक अनुमतिपत्र नभएका चालकले यातायातका साधन सञ्चालन गरेर दुर्घटना हुने दर बढेपछि टा«फिक प्रहरीले निगरानी बढाएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विकले बताए।

भेरी करिडोरको जाजरकोट बीच विन्दुमा पर्ने भएकाले जाजरकोट हुँदै धेरै सवारी साधन चल्ने गर्दछन्। विगत १० वर्षको तथ्याङ्क हेर्दा जाजरकोटमा दुई ठूला दुर्घटना भएर १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ। छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लामा जाजरकोट भएर सवारी साधन आवतजावत गर्ने भएपछि दुर्घटनाको दर बढेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए। जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा निगरानी कम हुँदा समस्या हुँदै आएको छ।

नियम नमान्दा कारवाहीको दर उच्च

नियम नमानेर जथाभावी सवारी साधन चलाउँदा अघिल्लो आवको तुलनामा गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोब्बर राजश्व सङ्कलन गरेको छ। कार्यालयले मादक पदार्थ सेवन गरी चलाएको, सवारी चालक अनुमतिपत्र नभएको, जथाभावी सवारी पार्किङ गरेको, तोकिएभन्दा बढी भाडा लिएको आधारमा कारवाही गरी राजश्व उठाइएको बताएको छ।

गत आव २०७६र७७ मा रु १८ लाख ६९ हजार राजश्व सङ्कलन गरेको थियो। कार्यालयले आव २०७७÷७८ मा रु ४० लाख ४० हजार राजश्व सङ्कलन गरेको थियो। गत आवमा चार हजार ७५० सवारी साधनलाई कारवाही गरेको कार्यालयले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *