एक्जेम्प्लरसँगको सहकार्यपछि सगुनको मिनी आइपिओ ३१ अगष्टमा बन्द हुने

डिसी नेपाल
२ भदौ २०७८ ७:२३

वाशिङ्गटन डिसी। सगुनले सर्वसाधारणहरुका लागि खुला गरेको रेग ए प्लस (मिनी आइपिओ) अन्तगर्तत उपलब्ध गराइएका आफ्ना शेयरहरुको बिक्री यही अगष्ट ३१ (न्यूयोर्क समय मध्यरात १२ बजे)देखि बन्द हुने जानकारी हालै जारी गरेको प्रेश विज्ञप्ती मार्फत जनाएको छ।

मिनी आइपीओ मार्फत जारी गरेको ‘सी’ क्लासको शेयर, सर्वसाधारणले प्रति शेयर ३० डलरका दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न पाउने छन् । प्रेस विज्ञप्तीका अनुसार गत जुलाई महिनाको अन्त्यसम्ममा संसारभरिका ४,५०० भन्दा बढी लगानीकर्ताहरुले सगुनका शेयर किनिसकेका छन्।

अबको २ सातामा मिनी आइपीओ बन्द गर्न लागिएका सम्बन्धमा सगुनका संस्थापक गोविन्द गिरी भन्छन् ‘‘हामीले भर्खरै जून २०२१ मा अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे ‘स्ट्राटेजिक पार्टनरशिप’ सम्वन्धी सम्झौता गरेका छौँ ( https://www.dcnepal.com/2021/07/271000/ )। उक्त सम्झौता अनुसार हामीले अहिलेको मिनी आइपीओ बन्द गर्न लागेका हौँ। हाम्रो व्यवसायका लागि आवश्यक पूँजी जुटाउने जिम्मा सोही कम्पनीले लिएको छ । यस अवसरमा सगुनको स्थापनादेखि हामीलाई सहयोग गर्दै आउनु भएका सबै लगानीकर्ताहरु र शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।’’

मिनी आइपीओ स्विकृत भएका कम्पनीहरुको शेयर विश्वभरिबाट सर्वसाधारणहरुले खरिद गर्न सक्दछन्। सगुनले पनि सोही बमोजिम यस्तो अवसर दिएको तर अब सो अवसर अगष्ट ३१ बाट बन्द हुने कुरा विज्ञप्तीमा जनाइएको छ।

नेपाल सरकारको नियम अनुसार नेपाल भित्र बसोबास गर्ने नेपालीहरुले शयेर खरिद गर्न नपाएता पनि संसारभरि रहेका गैर आवासीय नेपालीहरु लगायत अन्य सबैले सगुनको शेयर खरिद गर्न पाउने कुरा सगुनले हरेक पटक शेयर विक्रीका समयमा भन्दै आइरहेको छ र सो कुरा हालै जारी गरेको प्रेश विज्ञप्तिमा पनि उल्लेख गरेको छ।

अमेरिका नेपाल र भारतमा कार्यालय रहेको सगुनले आफ्नो एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने गरी उपलब्ध गराएको छ। साथै सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्ना कथा, फोटो र भिडियो शेयर गर्ने तथा आफ्ना साथीहरुसँग कुराकानी गर्न सक्नेछन्। उनीहरुले सगुन प्रयोग गरेवापत ‘स्मार्ट क्वोइन’हरु कमाउन सक्छन् जुन स्वंयले वा आफ्ना परिवार तथा साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन्,’ विज्ञप्तिमा भनिएको छ।

सगुनको हालसम्मको प्रयोगकर्ताहरु तथा उपलब्ध फिचरहरुका बारेमा विज्ञप्तिमा उल्लेख गरिए अनुसार सगुनका प्रयोगकर्ताहरुले हालसम्म १ अर्ब ७० करोड भन्दा बढी ‘स्मार्ट क्वोइन’हरु आर्जन गरिसकेका छन् ।

जसमध्ये ५३ करोड ३० लाख ‘स्मार्ट क्वोइन’हरु अरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकेका छन्। सगुनको एपमा हाल उपलब्ध फिचरहरुमा सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड रहेका छन् भने निकट भविष्यमा शपिङ्ग तथा भ्वाइस स्टोरी का फिचरहरु थपिने छन्।

सगुनको मिनी आइपीओ बन्द हुनु अगावै शेयर खरिद गर्न इच्छुक व्यक्तिहरुले www.sagoon.com/invest मा गएर आवेदन दिन सकिने कुराको जानकारी दिंदै स्टार्ट अप कम्पनीहरुमा लगानी गर्दा जोखिम पनि हुन सक्ने भएकाले सम्भाव्य लागनीकर्ताहरुलाई लगानी गर्नु अगाडि ‘अफरिङ्ग सर्कुलर’ पढ्न विज्ञप्तीको अन्त्यमा आग्रह गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *