अमेरिकी संसद भवनबाहिर बमको धम्की दिने व्यक्तिद्वारा ५ घण्टापछि आत्मसमर्पण

डिसी नेपाल
४ भदौ २०७८ ०:४४

वासिंगटन डिसी । अमेरिकी संसद भवन क्यापिटल हिलअगाडि विस्फोटक पदार्थ बम रहेको धम्की दिने एक व्यक्तिले ५ घण्टापछि आत्मसमर्पण गरेको छ । सो व्यक्तिले एउटा पिक अप गाडी तेस्र्याएपछि संसद भवनलाई खाली गराइएको थियो।

उसले आत्मसमर्पण गरे पनि गाडीमा विस्फोटक पदार्थ भए नभएको र भए कुन क्षमताको भएको भन्नेबारे सुरक्षकर्मीहरुले घटनास्थललाई सुरक्षित गरेर अनुसन्धान गरिरहेका छन्।

अगष्ट १९ विहीबार विहान साढे नौ बजेदेखि सो व्यक्तिको धम्कीबारे सुरक्षा निकायहरुले अनुसन्धान गरिरहेका र सो व्यक्तिसंग सम्झौताको प्रयास गरिरहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्।

फाेटाे न्यूयाेर्क टाइम्सबाट

आफूलाई राष्ट्रवादी बताउने ५० बर्षजतिको देखिने सो अधबैंसै व्यक्तिले कुन उदेश्यले बम बोकेर संसद भवनअगाडि पुगेको हो भन्ने कुरा खुल्न सकेको छैन

तर, उसले संसद अगाडि गाडी तेस्र्याएपछि प्रहरीलाई फोन गरी आफूसँग बम रहेको र आफूले अमेरिकी राष्टपति जो वाइडेन वा उनका प्रतिनिधिसंग वार्ता गर्न चाहेको बताएको प्रहरीले सञ्चारमाध्यमहरुलाई बताएको छ।

संसद सुरक्षार्थ खटिएको प्रहरीका अनुसार, आफूमाथि प्रहरीले गोली चलाए बम विस्फोट हुने चेतावनी सो व्यक्तिले दिएको छ । सो व्यक्तिले पिक अपबाट फेसबुकमा लाइभ प्रसारण गरेको र सो बेला मेटलको केही वस्तु उसको साथमा देखिएको बताइएको छ।

फेसबुकले सो भिडियोलाई हटाइदिएको बताइएको छ । साे व्यक्ति पूर्व राष्ट्रपति डाेनल्ड ट्रम्प समर्थक भएकाे कतिपय अमेरिकी मिडियाले लेखेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *