लागुऔषधमा पत्रकार फसाउने सम्बन्धमा रौतहटका एसपी शाहमाथि छानविन शुरु

डिसी नेपाल
८ भदौ २०७८ १६:३८
184
Shares

काठमाडौं । निमयविपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरिएको सम्बन्धमा रौतहटका एसपी सिद्धिविक्रम शाहमाथि छानविन शुरु भएको छ । घुमुवाले पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजेको विषयमा एसपीकै संलग्नता रहेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा समिति गठन गरी उनीमाथि छानविन शुरु भएको हो ।

पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहकै योजनामा भएको आशंका गरिएको हो । एसपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनलाई शंकाको घेरामा राखिएको थियो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ । गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर घटनामा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै पत्रकारलाई सोमबार छाडिएको थियो ।

नियमविपरित राखिएका घुमुवा प्रहरीले पत्रकार फसाउन खोज्दा आफै फसेका थिए । प्रहरी प्रधानकार्यालयले घुमुवा प्रहरी नराख्न गरेको परिपत्रलाई समेत वेवास्था गरी रौतहटमा परिचालन भएका घुमुवा प्रहरीले पत्रकारकै मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्दा आफै फसेका हुन् । पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाइएका दुई प्रहरी अहिले निलम्बनमा परेका छन् ।

रौतहटका सञ्चारकर्मीले प्रहरीका घुमुवाले अनियमितता गरेको समाचार लेखेपछि उनीलाई लागुऔषध प्रयोग गरी सुनियोजित तवरले फसाउन खोजेका थिए । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी थप कारवाहीको प्रकृया अघि बढाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.