कहिले उठ्छ काठमाडाैंकाे फाेहाेर ?

फुर्पा शेर्पा
९ भदौ २०७८ १०:१३

काठमाडौं । विगत लामो समयदेखि नियमित रुपमा फोहोर उढ्न नसकेका कारण काठमाडौंका महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहोर व्यवस्थापनको निकास अझै निस्किएको छैन। पछिल्ला केही हप्तादेखि काठमाडौंको फोहोर नियमित रुपमा उठ्न सकिरहेको छैन।

फोहोर व्यवस्थापन हुन नसक्दा विभिन्न चोकहरुमा सडकछेउ फोहोर थुप्रिएका छन्। यसबाहेक नगरपालिकाका वासिन्दाको घर–घरमा पनि फोहोर थुप्रिएका कारण समस्या भएको छ। फोहोरका कारण सडक दुर्गन्धित भएपछि आवतजावत गर्ने सर्वसाधारणलाई कठिनाइ भइरहेको उनीहरुको गुनासो छ।

कमलपोखरी नजिक बस्दै आएका रामबाबु बिष्ट सधै बिहान मोर्निङ वक्मा जाने गछन्। सधैं मोर्निङ वाक जाँदा फोहोर थुप्रिएका कारण अर्को बाटो घुमेर आउँनु परेको बताउँछन्। ‘मास्क लगाए पनि नाक थुनिएर हिँड्नु परेको छ, एकातिर कोरोनाको डर छ अर्का तिर फोहोरले गर्दा अर्को रोग फैलिने पो हो कि भने डर मनमा बसेको छ,’ उनले भने।

‘हामी जनताले समयमै फोहोरको शुल्क बुझाइरहेका छौं तर पनि हामीले अहिले जहाँ गए पनि चारै तिर फोहोर थुप्रिएको मात्र देखिन्छ। अप्ठायारो हुने भने हामी जनतालाई नै हो,’ उनले थपे।

महानगरवासीका घरघरमा फोहोर थुप्रिएको आज १० दिन पुग्दा पनि महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन्। नियमितरुपमा पानी परिरहेकाले फोहोर व्यवस्थापनमा थप समस्या भएको काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ।

उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल भरिएको र दीर्घकालीन व्यवस्थापनस्थल निर्माण सम्पन्न नहुँदा समस्या थप चुलिएको हो। गत साउन ३२ गते नै कामपाले सार्वजनिकरुपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।

सूचना निकालेको पनि एक हप्ता भयो, अझै साविकको जस्तो फोहोर व्यवस्थापन हुन सकेको छैन, जसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिएको छ। कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए।

उनले भने, “निमार्णाधीन बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको काम शुरु नगरिएसम्म समस्या समाधान हँुदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन।”

सिसडोलमा विसं २०६२ मा दुई वर्षको फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएकामा पटक पटक विस्तार गरेर अहिलेसम्मको फोहोर व्यवस्थापन गरिँदै आएको छ।

हरेक दिन उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। जसमा सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन रहेको छ। निजी र कामपाको गरी २०० गाडी फोहोर लाने गरिएकामा अहिले दैनिक ५० गाडी मुस्किलले सिसडोल पुग्ने गरेका छन्।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल निर्माण कार्य भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *