महन्थ-महतोको सांसद पद आफूहरुले जोगाइदिएको उपेन्द्र यादवको जिकिर

डिसी नेपाल
११ भदौ २०७८ १९:५३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन ।

जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली-ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।

यादवले भने,’पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर-महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं ।’

संघीय गणतन्त्र र समावेशीकरणसहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे ।

महन्थ-महतोको सांसद पद आफूहरुले जोगाईदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सकथेम । तर हामीले केही गरेनौ ।’

अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन । ‘समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोकेपनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो,’ उनले भने ।

जसपा अध्यक्ष यादवले प्रदेश २ मुख्यमन्त्री र मन्त्रीहरुलाई जनहितको कामलाई प्राथमिकता दिन कड़ा निर्देशन दिएका छन । उनले भने, ‘तपाईहरु जनताको काममा समर्पित भएर अन्य प्रदेश भन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस ।’

सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *