‘युवाहरु चर्चित हुने नाममा बिना अध्ययन बोल्छन्’

डिसी नेपाल
१२ भदौ २०७८ ९:५०
124
Shares

काठमाडाैं । नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा बिना अध्ययन बोल्ने गरेको पाइएको छ। ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ यहाँ आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिना अध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताए। “बिना अध्ययन युवा बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ”, उनले भने।

वरिष्ठ पत्रकार टीकाराम यात्रीले अभियानकर्मीले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरुबाट लाभ लिन सक्ने बताए । समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेको उनको भनाइ थियो।
मानवअधिकारवादी एवं पत्रकार राजन कुइँकेलले सामाजिक अभियानका नाममा अभियानकर्मीले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिने गर्दा समाजमा बिग्रह ल्याउने सुनाए। संसारमा आपत्विपत्, प्रकोप र महामारीजस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेको उनको भनाइ थियो।

नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरुको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताइन्। ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने सुनाए।

कार्यक्रमका अन्य वक्ताले विरोधको पछाडि प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू लोकप्रिय बन्न चर्को विरोध गर्ने र कुतर्क पेश गर्नेहरु नै अभियानकर्मीका रुपमा चर्चामा रहेको बताएका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.