प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता : सरकार चाँडै विस्तार गर्ने सहमति

डिसी नेपाल
१३ भदौ २०७८ १३:४३

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच चाँडै सरकारलाई पूर्णता दिने सहमति भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान देउवा, प्रचण्ड र नेपालबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको र चाँडै सरकारलाई पूर्णता दिने सहमतिभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारुढ गठबन्धनकै आलोचना भइरहेका बेला उनीहरुबीच छलफल भएको हो। शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो।

उपेन्द्र यादवको जसपाले मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुको भनाइ छ। स्रोतका अनुसार प्रधानमन्त्री देउवा महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा सहभागी गराउन चाहन्छन्।

‘अब सरकारमा सहाभागी हुने दललाई एकै पटक समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सरकारमा सहभागी हुने विषयमा कुनै समस्या छैन। तर कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने सहमति हुन बाँकी छ।’ तर अब आइतबार तीन नेताबीच भएको छलफलपछि मन्त्रालयको विषयमा पनि मोटामोटी सहमति भएको बालुवाटार निकट स्रोतको दाबी छ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले साउन ३ मा विश्वासको मत लिएका थिए। असार २९ मै माओवादीबाट दुई र कांग्रेसबाट २ मन्त्री नियुक्त गरेका उनले साउन १० मा मन्त्रिपरिषद् विस्तार गर्दै व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए।

लामो समयसम्म सरकारले पूर्णता नपाउँदा सरकारी काम प्रभावित बन्दै आएको छ। उता सत्ता गठबन्धनका दलहरुभित्र सरकारमा कसलाई पठाउने भन्ने विषयमासमेत विवाद छ। प्रधानमन्त्री देउवाकै दलभित्रपनि मन्त्रीका आकाक्षी धेरै हुँदा मन्त्री छान्न देउवालाई सकस परेको छ भने उनीमाथि गुटगत आधारमा सरकारमा सहाभागी गराउनु पर्ने चुनौती छ।

अर्को मुख्य घटक माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै हुँदा मन्त्री छान्न सकस परेको छ। हाल माओवादीबाट दुई मन्त्री सरकारमा सहभागी भएपनि कसको पार्टीका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद कायमै छ।

उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा सहाभागी हुने निश्चित भएपनि कसको नेतृत्वको सरकारमा सहाभागी हुने भन्ने विवाद छ। माधव नेपाल र महन्थ ठाकुरको दलले भने सरकारमा सहाभागी हुने मन्त्री चयन गरिसकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *