कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशमा को–को छन् जिल्ला सभापतिको आकांक्षी?

सम्भव सिंह ठकुरी
१४ भदौ २०७८ १३:१६

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म सरगर्मी बढ्न थालेको छ। केन्द्रका नेताहरु आफू अनुकूलका नेतालाई जिल्ला सभापति बनाउने कसरतमा लागेका छन्।

यसका लागि नेता कार्यकर्ता केन्द्रीय नेता भेट्न काठमाडौं आउने जाने क्रम निकै बाक्लिन थालेको छ। केन्द्रीय सभापतिका लागि जसरी दावा बढेका छ त्यसरी नै जिल्लामा पनि सभापतिका दावेदारहरु दौडधुप गरिराखेका छन्।

वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ। त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ। जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ। केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक सोही संरचना अनुसार हुन लागेको १४ औँ महाधिवेशन नयाँ संरचना अनुसारको हुने छ।
अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप बढ्न थालेको छ।

को को छन् जिल्ला सभापतिको आकांक्षी

१२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका प्रभावशाली नेताहरु बालकृष्ण खाँड, देवेन्द्रराज कंडेल,चन्द्र भण्डारी,पुष्पा भुसाल,किशोर सिंह राठौर लगाएतका नेताहरुको प्रदेश हो।

रुपन्देही :  यो जिल्ला केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला पर्दछ। यहाँ देखिएका अधिकांश आकांक्षी खाँडकै निकट कै मानिन्छन्।

खाँडका भाइ जिल्ला सचिव रामकृष्ण खाँड, युवराज गिरी र जिल्ला सदस्य थानेश्वर घिमिरेले सभापतिमा देउवा समूहबाट उम्मेदवार बन्न प्रयास गरिरहेका छन्। पौडेल समूहका लुम्बिनी प्रदेश सांसद अष्ठभुजा पाठक, क्षेत्रीय सभापति मातृकाप्रसाद यादव पनि आकांक्षी देखिएका छन्।

पाल्पा : यो जिल्लामा अधिकांक्ष पौडेल समूहबाट सभापतिको आकांक्षी देखिएका छन्। बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्वसभापति कृष्ण अधिकारी, पूर्वउपसभापति यमलाल तिमल्सिना, जिल्ला सचिव झपेन्द्र गैरे र महासमिति सदस्य रमण थापा आकांक्षी देखिएका छन्। यी सबै पौडेल समूहका मानिन्छन्। वर्तमान उपसभापति देवराज ढकाल देउवा समूहबाट उम्मेदवार बन्ने तयारीमा लागेका छन्।

गुल्मी : नेता चन्द्र भण्डारीको गृहजिल्ला रहेको यो जिल्लामा देउवा र पौडेल समूहबाट बराबरी आकांक्षी देखिएका छन्। वर्तमान सभापति विष्णु बलाल पौडेल समूहको पुनः नेतृत्वमा आउन चाहेका छन्।

यही समूहबाट सचिव खिलध्वज पन्थी र महासमिति सदस्य शालिकराम पन्थी पनि उम्मेदवार बन्ने तयारीमा छन्। देउवा समूहका सचिव विष्णु सापकोटा, सभापतिका पूर्वउम्मेदवार वेद थापामगर र महासमिति सदस्य महेन्द्रप्रसाद भण्डारी पनि आकांक्षी छन्।

अर्घाखाँची : कांग्रेस सचेतक पुष्पा भुसालको गृह जिल्ला रहेको यो जिल्लामा वर्तमान सभापति विष्णु खनाल मुस्कान, सचिव छविलाल पौडेल, महासमिति सदस्यद्वय यादव घिमिरे र केशव श्रेष्ठले उम्मेदवार दौडमा लागेका छन्। तर उनीहरु कुनैपनि कुनैपनि समूहमा खुलेका छैनन्।

प्युठान : यो जिल्लामा पौडेल समूहबाट धेरै आकांक्षी देखिएका छन्। वर्तमान सभापति अम्मरप्रसाद भण्डारी पुनः उम्मेदवार बन्ने तयारीमा छन्। यसअघि उनी पौडेल समूहबाट निर्वाचित भएका थिए।

तर, पौडेल पक्षकै उपसभापति बद्री लम्साल, सचिव विष्णुकुमार गिरी र महाधिवेशन प्रतिनिधि देवेन्द्र बर्मा पनि उम्मेदवार बन्ने तयारीमा छन्। देउवा समूहमा रहेका सभापतिका पूर्वउम्मेदवार शिवराज रिजालले पनि उम्मेदवारी दाबी गरेका छन्।

कपिलवस्तु : यो जिल्लामा वर्तमान उपसभापति तथा महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलाम, बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ, पूर्वजिल्ला सभापति सुधाकर पाण्डेय उम्मेदवार दौडमा रहेका छन्। उनीहरू कोइराला परिवारसँग नजिक मानिन्छन्।

देउवा समूहमा रहेका पूर्वसभापति राजेश आचार्य र महाधिवेशन प्रतिनिधि ललित गुरुङले पनि उम्मेदवारी दिने बताएका छन्। महाधिवेशन प्रतिनिधि दुर्गा सेन र पूर्वक्षेत्रीय सभापति हरिराज घिमिरे पनि दौडमा छन्। तर, उनीहरु कुनैपनि समूहमा खुलेका छैनन्।

रोल्पा :  यो जिल्लामा देउवा समूहनिकट निवर्तमान सभापति मानबहादुर खत्री र नेतृ श्रीकुमारी रोकाले उम्मेदवारी दाबी गरेका छन्। पौडेल समूहबाट पूर्वसांसद लेखनाथ आचार्य, वर्तमान उपसभापति किशोरकुमार आचार्य र कोषाध्यक्ष खटकबहादुर खत्री उम्मेदवारीको दौडमा रहेका छन्।

रुकुम पूर्व :  संघीय संरचना अन्तगर्त प्रदेश विभाजनको क्रममा साबिकको रुकुम जिल्ला टुक्र्याएर बनाइएको जिल्ला रुकुम पूर्व हो यहाँ देउवा समूहनिकट मानिने वर्तमान जिल्ला सभापति केशरमान रोका र पौडेल समूहका जिल्ला सचिव भीमबहादुर खड्का प्रतिस्पर्धामा आउने बताइएको छ।

नवलपरासी पश्चिम : नेता देवेन्द्रराज कँडेलको गृहजिल्ला भएकाले यहाँ रोचक प्रतिस्पर्धाको सम्भावना छ। यहाँ महामन्त्री डा.शशांक कोइराला र कँडेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला सभापति विष्णु पौडेल र महासमिति सदस्य मोहन शर्मा कँडेल पक्षबाट आकांक्षी छन्। शशांकनिकट उपसभापति अर्जुनकुमार पोखरेल पनि उम्मेदवार बन्ने तयारी गर्दै छन्।

दाङ :  यो जिल्ला कांग्रेस राजनीतिमा संधै प्रभावशाली रहेका स्वर्गीय नेता खुमबहादुर खड्काको गृहजिल्ला भएकाले उनको राजनीतिक प्रभाव अहिले पनि देखिन्छ।

पूर्वसांसद गेहेन्द्र गिरी, क्षेत्रीय सभापति भुपबहादुर डाँगी र महासमिति सदस्य भरतबहादुर न्यौपानेले उम्मेदवारीमा दाबी गरेका छन्। उनीहरु खड्का निकटका थिए।

देउवा समूहबाट राजु खनाल,कमलकिशोर घिमिरे, महासमिति सदस्यद्वय भोजराज पाण्डे र जानकी बस्नेत पनि आकांक्षी छन्। यस्तै, पौडेल समूहबाट प्रदेश सांसद शंकर गिरी, पूर्वजिल्ला सभापति खगराज पाण्डे र जिल्ला सचिव शंकर डाँगी दौडमा रहेका छन्।

बाँके :  यो जिल्ला पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको गृहजिल्ला हो तर यहाँ देउवा निकटका धेरै नेताहरु सभापतिको आकांक्षीमा देखिएका छन्। कोइराला समूहबाट जिल्ला सभापति किरण कोइराला र नारायणप्रसाद गौडेल सभापतिको उमेद्वार बन्ने दौडमा रहेका छन्।

देउवा समूहका मानिने नेताहरु प्रदेश सांसद सुरेन्द्र हमाल, पूर्वसांसद बादसाह कुर्मी, राजकुमार बर्मा, लक्ष्मीनारायण शाह, नीरञ्जनसिंह सिंजापति, वर्तमान उपसभापति सुनीलनरसिंह राणा सभापतिको उम्मेदवार बन्ने दौडमा देखिएका छन्।

बर्दिया : यहाँ देउवासमूहबाट नेताअरुणप्रतापसिंह राठौर, विद्याप्रसाद खनाल, नेताहरू भोजराज जोशी, भेजु भाट, जग्गाप्रसाद पाण्डे उम्मेदवारीको आकांक्षी देखिएका छन्। पौडेल समूहबाट कार्यबाहक सभापति मिश्रीलाल यादव,सोदे यादव आकांक्षीरुपमा देखिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *