बैतडीमा बढ्यो कांग्रेस अधिवेशनको सरगर्मी, सभापतिका लागि एक दर्जन नेताको नाम चर्चा

डिसी नेपाल
१८ भदौ २०७८ १५:२१

बैतडी। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरू भएसँगै बैतडीमा यसको सरगर्मी बढेको छ। १० वटै पालिकाका कार्यसमितिहरुलाई विधान, नियमावली र निर्देशिकाको प्रशिक्षण दिइएको छ भने वडा अधिवेशनका लागि मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री दिएर पालिकाका ८४ वटै वडामा खटाइएको छ।

बैतडीमा वडा अधिवेशन २१ भदौमा हुने छ। २७ भदौमा पालिकाको अधिवेशन हुनेछ भने दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेकोमा (क) र (ख)मा १ असोजमा क्षेत्रीय अधिवेशन हुनेछ । ५ असोजमा जिल्ला अधिवेशन सम्पन्न हुनेछ। सबै अधिवेशनका लागि अहिले सरगर्मी बढेको छ।

१४औँ महाधिवेशन नजिक आउँदै गर्दा बैतडीमा नेतृत्व कसले लिने भन्ने विषयमा चर्चा हुन थालेको छ। बैतडीमा पार्टी सभापतिका लागि एक दर्जन नेताले आकांक्षा राखेको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए । उनले भने, ‘जिल्लामा महाधिवेशनको चहलपहल शुरु भइसकेको अवस्थामा नेताहरु नेतृत्वका लागि दाबी प्रस्तुत गर्न थालेका छन् ।’

बैतडीमा एक दर्जन नेताले सभापति बन्ने इच्छा देखाएको सचिव चन्दले बताए । उनले भने, ‘महाधिवेशनको संशोधित कार्यतालिका आएपछि चहलपहल बढेको छ ।’

नेपाली कांग्रेसको सभापतिमा वर्तमान सभापति नरेन्द्रसिंह थापासहित नौजना इच्छुक देखिएका छन् । पार्टीका पूर्वसभापति शिवराज भट्टले पनि सभापतिका लागि दावी प्रस्तुत गर्ने भएका छन् । लामो समयदेखि पार्टीमा रहेकोले पार्टीमा सभापतिको दाबेदारी प्रस्तुत गर्ने उनी निकट नेताहरुले बताएका छन् ।

यस्तै वर्तमान उपसभापति चतुरबहादुर चन्द पनि सभापतिको लागि दौडधुपमा लागेका छन् । पार्टीलाई गति दिन चन्दले सभापतिको दावी प्रस्तुत गरेको उनी निकट नेताहरुले बताएका छन् ।

यस्तै वर्तमान सचिव वीरबहादुर विष्टले सभापति बन्ने इच्छा देखाएका छन् । एक कार्यकाल पार्टीको सचिव भइसकेकाले अब सभापतिमा आफ्नो दावी रहेको उनले बताए ।

वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय, पार्टीका पूर्वउपसभापति हरिसिंह धामी, महासमिति सदस्य केशवबहादुर चन्द, महाधिवेशन प्रतिनिधि दीपकबहादुर बम र पूर्वउपसभापति प्रतापसिंह ठगुन्नाले पनि सभापति बन्ने इच्छा देखाएको जिल्ला सचिव चन्दले जानकारी दिए ।

पार्टीको महाधिवेशन नजिकएसँगै नेता कार्यकर्ताहरुको दौडधुप शुरु भइसकेको छ । पार्टीको जिल्ला सभापति बन्न इच्छुक केही व्यक्तिले वडाको अधिवेशनपछि मात्रै दावी प्रस्तुत गर्ने बताएका छन् । महासमिति सदस्य उत्तर बहादुर ऐरले भने, ‘अहिले केही साथीहरुले दावी गरिरहनुभएको छ । त्यो स्वाभाविक पनि हो । तर केही व्यक्ति वडाको अधिवेशन सम्पन्न भएपछि दावी आउँछ ।’

बैतडीमा धेरै जनाले सभापतिका लागि आकांक्षा देखाएपनि अन्तिममा दुई खेमाका दुईजना उम्मेदवार हुने आंकलन गरिएको छ । संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुन सक्ने कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।

यसअघि १३औँ अधिवेशनका बेलासमेत धेरै आकांक्षीका रूपमा धेरै नेताहरुको नाम चर्चामा आए पनि वर्तमान सभापति नरेन्द्रसिंह थापा सर्वसम्मतीले सभापतिमा चयन भएका थिए भने अन्य पदहरुमा चुनाव भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *