‘संसद्‌बाट एमसीसी पारित गर्नु हुँदैन’

डिसी नेपाल
२५ भदौ २०७८ १८:३६

काठमाडौँ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन् ।

उनले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने पनि सुझाव दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसीको बारेमा स्पष्ट हुनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने पनि बताए ।

उनले भने, “एमसीसीमा भएका कतिपय अस्पष्ट बुँदाको बारेमा नेपालका सबै दलहरुबीच सरसल्ला गरेर साझा निष्कर्षमा पुग्नुपर्छ । यसको लागि नेपाल सरकार खासगरी प्रधानमन्त्रीले पहल लिनुपर्छ ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले नेपालको संसद्ले एमसीसी पारित गर्यो भने भोलि यस्तैखाले सम्झौता भारत र चीनले पनि संसद्बाट पारित गर्नुपर्छ भन्यो भने के हुन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, “चीन उदाउँदो महाशक्ति हो, उता अमेरिका स्थापित महाशक्ति हो । अहिले दुई देशबीच तनाव बढेर गएको छ । त्यो तनावको भूमरीमा नेपाल नपरोस भनेर नेपाल सतर्क हुनुपर्छ । संसद्ले एमसीसी पारित गर्यो भने भारतले पनि भोलि यस्तैखाले विकास सम्झौता संसद्बाट पारित गर्नुपर्छ भन्यो र चीनले पनि भन्यो भने के गर्नुहुन्छ ?”उनले नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले भने, “भारत, चीन र अमेरिका तीनवटै राष्ट्र हाम्रा मित्रहरु छन् । एउटासित सम्झौता गर्दा अर्कोले भन्ने ठाउँ नहोस् ।

अहिले एमसीसी सम्झौता परिवर्तन हुँदै भनेर अमेरिकी मन्त्रीले भनेको कुरा पनि हामीले सुनेका छौं, बास्तवमा ठूलो राष्ट्रले सम्झौता परिवर्तन गर्दैन् । नेपालले पनि अखबारबाट वार्ता गर्नुहुँदैन। अखबारबाट त पोजिसन राख्ने हो । सम्झौतामा भएका कतिपय नमिल्दा कुरा हटाउनुपर्छ । यो काम गर्नको लागि म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि लेटर अफ एक्स्चेन्ज होस । एमसीसी यथास्थितिमा पािरत गर्न हुँदैन् । परिमार्जन गर्नुपर्छ ।”

त्यस्तै, उनले आफ्नो पार्टी अब महाधिवेशनको तयारीमा जुटेको पनि सुनाए । उनले भने, “हाम्रो पार्टी अब महाधिवेशनको तयारीमा जुटेको छ, आगामी कार्तिक २७, २८, २९ र ३० गते हुने महाधिवेशनको लागि अहिले सक्रिय सदस्यता वितरण कार्य व्यापक भैरहेको छ । राप्रपाको एजेण्डा र दृष्टिकोण के छ भने पार्टीलाई एकताबद्ध र शशक्त पार्टीको रुपमा ल्याउने हो । र, नेपालको राजनीतिमा एउटा सन्तुलन गर्ने हाम्रो प्रतिबद्धता छ । राप्रपालाई हामी जनताको लागि विकल्पको रुपमा स्थापित गर्न प्रतिबद्ध भएर मिलेर लागेका छौं ।”

आफूहरुले मुलुकमा संवैधानिक राजसंस्था आवश्यकत्ता रहेको कुरा उठाउँदै आएको पनि लोहनीले सुनाए । उनले भने, “संवैधानिक राजसंस्थाले मुलुकको एकता बनाउन बल पुर्याउँछ । संवैधानिक राजसंस्थाको उपस्थिति मात्रै भयो भने पनि त्यो नैतिक शक्ति हुन्छ । त्यसले मुलुकमा स्थिरता, प्रजातन्त्र र स्थायित्व बढाउन मद्दत गर्छ । अर्को एजेण्डा भनेको हिन्दू पहिचान हो । नेपाल वैदिनक सनातन धर्म । धर्मनिरपेक्षताको नाममा अहिले ठाउँ ठाउँमा धर्म परिवर्तन भएको छ । तर, त्यसमा नेपाल सरकार मुकदर्शक भएको छ । सरकारले कुनै हस्तक्षेप गरेको छैन् । हिन्दूराष्ट्र नेपालको पहिचान हो ।”

उनले नेपालको अहिलेको आर्थिक मोडेलपनि सही नभएको टिप्पणी गरे । उनले भने, “यो मोडेलले नेपालको विकास हुँदैन् । मुलुकमा व्याप्त भ्रष्टाचार हटाउनुपर्छ । यसको लागि बरु नागरिक आयोग गठन गर्नुपर्छ । नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । राजनीतिलाई व्यापार बनाउने काम भएको छ । राजनीतिलाई मागी खाने भाँडो बनाउनुहुँदैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *