बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक
सिन्धुपाल्चाेक । नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन्। ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताए।
पूर्वमन्त्री उनले राजनीतिक दलको पहिलो कर्तव्य जनता जोगाउनु रहेको जनाउँदै नेता बन्न खोज्नेले जनताका लागि सोच्नुपर्छ भने।
“हेलम्बु, मेलम्चीका स्थानीयवासीले बाढीको पीडा भोगेका छन् उनीहरुका लागि हामीले सोच्नुपर्छ”, विपद् व्यवस्थापन समितिका संयोजक उनले भने, “बाटोघाटो, पुल पुलेसा निर्माण तत्काल गर्नुपर्ने र पीडित स्थानीयवासीका लागि दीर्घकालीन कार्ययोजना बनाएर सहयोग गर्नुपर्दछ।”
अर्का केन्द्रीय सदस्य विष्णुविक्रम थापाले मेलम्चीवासीको विपत्तिमा हरदम साथ दिन कांग्रेस तयार रहेको बताए। क्षेत्र नं २ प्रदेशसभा (ख)का सभापति रामबाबु लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता भोला बोहोरा, प्रदेशसभा सदस्य निमा लामा, प्रचारप्रसार विभाग केन्द्रीय सदस्य सागर श्रेष्ठ, युवानेता प्रेमध्वज लामालगायतले विपत्तिमा पार्टीले अविभावकीय भूमिका निर्वाह गर्दै आएको बताए।
No ads found for this position


Facebook Comment