अदालतलाई कटाक्ष गर्दै विष्णु रिमालको पोस्ट, कमेन्टमा पक्ष र विपक्षको ‘दोहोरी’ बहस

डिसी नेपाल
३० भदौ २०७८ १५:२२

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले फेसबुकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याउने सर्वोच्च अदालतको फैसलाप्रति कटाक्ष गर्दै फेसबुकमा पोस्ट गरेपछि त्यसको कमेन्टमा समर्थक र विपक्षीको बीचमा दोहोरी शैलीमै बहस भइरहेको छ । कमेन्टमा केहीले रिमालकै शैलीमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीसहित रिमालप्रति नै कटाक्ष गरेका छन् । केहीले भने रिमालको समर्थन गर्दै समर्थन गर्दै अहिलेको देउवा सरकारको आलोचना गरेका छन् ।

रिमालले लेखेका थिए ‘मेरो विश्वास लोकतन्त्रमा हो, लोकतन्त्रका नाममा मच्चाइने अराजकतामा हैन । मेरो विश्वास कानूनी राजमा हो, कानूनकै घोडा चढी जारी गरिने ‘हुकुम’मा हैन । मेरो विश्वास संविधान र कानूनमा हो, संविधानलाई नै शंसोधन गर्ने जाली व्याख्या र कानून विपरितको फैसलामा हैन । मेरो सम्मान न्यायमूर्तिप्रति हो, मनलाग्दी गर्ने न्यायालयका जागिरेप्रति होइन ।’

जवाफमा रामकृष्ण शर्माले रिमालकै शैलीमा उनको आलोचना गर्दै लेखेका छन् ‘मेरो विश्वास गुरू भट्टराईमा हो, कुलमान घिसिङमा होइन । मेरो भरोसा विद्या भण्डारीमा हो, अष्टलक्ष्मीहरूमा होइन । मेरो लक्ष्य यति, ओम्नी पाल्नेतिर हो, आत्महत्या गर्ने राजबंशीतिर होइन । मेरो उदेश्य गाली र तुच्छ बचन लगाउनु हो, सत्कर्म, निष्पक्षता र सम्मान होइन । मेरो हैसियत बालुवाटार र सिंहदरबार होइन, बालकोटको बार्दली हो । मेरो भिजन परिणाममुखी काम होइन, भ्रम छर्ने र स्वीच थिचेर बाटो बनाउने हो । र, मेरो भ्रम, म बाहेक अरूसँग आँखा र दिमाग नै छैन ।

टेक नारायण पौडेलले भने कमेन्टमा अहिलेको देउवा सरकारको आलोचना गरेका छन् । उनले लेखेका छन् ‘देउवाको सरकार बनेपछि यी विषय उठ्नै छोडेका छन् । १. निर्मला पन्त, २. लिम्पियाधुरा–कालापानी, ३.महंगी, ४. बालुवाटार जग्गा, ५.जयसिंह धामी, ६. कोरोनासम्बन्धी भ्रष्टाचार, ७. वाइड बडी जहाज, ८. सार्वजनिक यातायातमा बढेको २८ प्रतिशत भाडा । मानौं, यो देशमा रामराज्य वा समाजवाद आएको छ ।’

नवीन अधिकारी लेख्छन् ‘मेरो विश्वास प्रधानमन्त्रीमा हो, प्रम पद लिएर सुटुक्क खुफिया एजेन्ट भेट्नेसँग होइन । मेरो विश्वास जननिर्वाचित संसदमा हो, त्यही संसद भंग गर्ने संसद हत्यारामा होइन । मेरो विश्वास इमान्दार नेतामा हो, ‘१० अर्ब छानबिन गर्ने समय अहिले होइन’ भन्नेमा होइन । मेरो विश्वास राष्ट्रपति पदमा हो, त्यही पदमा बसी आफ्नाले जे गरेपनि हिहिहि गर्नेमा होइन । मेरो विश्वास मन्त्री पदमा हो, त्यही पदमा बसी करोडौको घुस मोलमोलाई गर्नेमा होइन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *