असोज ४ मा पनि संसद अवरुद्ध गरिने संकेत देखेपछि एमालेलाई फकाउँदै प्रधानमन्त्री

डिसी नेपाल
१ असोज २०७८ ९:२५

काठमाडौं । असोज ४ गते पनि नेकपा एमालेले संसद अवरुद्ध गर्ने संकेत देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्यका लागि संवाद अगाडि बढाएका छन्। प्रधानमन्त्रीले असोज ४ को संसद बैठक निर्वाध चलाउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन आफ्ना दूतलाई ओली निवास बालकोट पठाएका छन् ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिनका लागि आफ्नो दूतको भूमिकामा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका हुन्।

आफूले कारवाही गरेका सांसदहरुलाई कारवाही गरिएको सूचना टाँस नगरेर सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ। गत भदौमा एमालेले आफ्नो पार्टींका १४ जना सांसदलाई कारवाही गरेको भन्ने चिठी संसद सचिवालयमा पठाएको थियो ।

एमालेले राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुभन्दा पहिल्यै संसद सचिवालयमा दर्ता गराएको दावी गरेको सो पत्रमाथि सभामुखले एमाले विभाजन भइसकेपछि मात्र कारवाही गरेका थिए । सभामुखले पार्टी विभाजन भएर कारवाही गरिएका भनिएका सांसदहरू नै सहभागी भएर अर्को पार्टी दर्ता भइसकेकोले कारवाही गरिरहनु नपर्ने निर्णय गरेका थिए ।

संसद अवरोध भएपछि एमाले अध्यक्ष ओली नेतृत्वले ल्याएका अध्यादेशहरु निष्क्रिय भएका छन्। स्वास्थ्य सम्बन्धि अध्यादेशहरु निष्क्रिय भएका कारण समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

यस्तै, जेठ १५ मा अध्यादेश मार्फत ल्याएको बजेट पनि पास हुन नसकेपछि अहिले बजेट होलीडे भएको छ। सरकारले ढुकुटीमा जम्मा भएको रकम पनि चलाउन नपाउने अवस्था आएको छ।

वित्तिय संस्थाहरुले तरलता उत्पन्न भएको भन्दै ब्याजदर बढाएका छन्। ७० वर्षको बजेट इतिहासमा पहिलो पटक नेपालमा बजेट होलीडे भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि देउवाले आफ्ना विश्वासपात्र कार्की मार्फत संवाद थालेका हुन्।

आउने ४ गतेका लागि बोलाइएको संसद बैठक संचालमा सहयोग गरिदिन प्रमुख प्रतिपक्षी दलसँग सरकारका कानूनमन्त्री कार्कीले आग्रह गरेका छन्। एमालेले आफूले कारवाही गरेका सांसदहरुलाई कारवाही गरिएको सूचना सभामुखले नटाँसेसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ।

हुन त देउवाले ओलीलाई मनाउने प्रयास यसअघि पनि नगरेका होइनन्। भदौ १५ गते पनि प्रधानमन्त्री देउवाले ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए। ओलीसँग संवादका लागि कानूनमन्त्री कार्की यसअघि पनि प्रधानमन्त्रीको दूतका रुपमा बालकोट पुगेका थिए।

भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक एमालेको अवरोधपछि संचालन हुन सकेको छैन। मंगलबारको बैठकमा भने सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *